सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने : मनसुन बाहिरिने संकेत

अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान

काठमाडौं । अबको केही दिन लगातार ठूलो पानी वा झरी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भारतको पूर्वी बिहार आसपास रहेको न्यूनचापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले अबको केही दिन ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना छैन । साथै मनसुन बाहिरिने संकेत देखिन थालेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो ।

मौसमविद् अर्यालका अनुसार मनसुन सकिने लक्षण देखिन थालेकाले अबको एक हप्ताभित्र मनसुन बाहिरिने अनुमान छ । पश्चिमबाट पूर्वतिर हावा सर्न थालेको उनले बताए। यस्तै देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिएको मानिनेछ ।

लगातारको झरीपछि बिस्तारै पानी पर्ने क्रम कम हुँदै गएको छ । अबको केही दिनमा पानी नपरे मनसुन बाहिरिने संकेतको रुपमा मान्न सकिने पनि उनले बताउनुभयो । नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गर्छ ।

तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो । यसैबीच आज प्रदेश नम्बर १, वाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बाँकी ठाउँहरुमा आंशिक बद्लीको मात्रै सम्भावना रहेको मौसमविद् अर्यालले बताए । आज राति पनि प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बद्ली भएर थोरै ठाउँहरुमा मात्र सामान्य पानी पर्ने सम्भावना छ ।

भोलि र पर्सिको मौसम पनि यस्तै रहने उनले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार ०७:३४