सूचनाको शक्ति - The Power Of Information

        

कालंगा हाइड्रोको काम अन्तिम चरणमा

बझाङ । बझाङको बुंगल क्षेत्रमा निजी क्षेत्रबाट निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । अन्य दुई आयोजनाको काम भने भइरहेको छ । बुंगलको पाउटादेखि रुपैलसम्मको ३.४६८ किलोमिटर लामो सुरुङ चार बर्षअघि खन्ने काम सुरु भएको थियो । आयोजनाको शुक्रबार सुरुङको काम सकिएर दोहोरो पास भएपछि हाइड्रो सञ्चालकहरुले आफुहरु सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।

यस योजनाको मुहानस्थल पाउटामा औपचारिक कार्यक्रम आयोजना गरी यसका लगानीकर्ता तीर्थराज चटौत र शिवप्रसाद घिमिरेले विद्युतको सबैभन्दा अप्ठेरो काम सुरुङ मार्ग सफल भएकोमा निर्माण कम्पनी पराामर्शदातासहित निर्माणमा खटिएका कामदार र अन्य कर्मचारीहरुलाई बधाइ दिएका थिए । साथै सञ्चालकका तर्फबाट कामदारहरुलाई एक लाख २० हजार नगदसहित सम्मान गरिएको थियो भने, निर्माण कम्पनीका तर्फबाट नगद १० हजार र टिर्सट दिएर बधाइ दिएको थियो ।

१५.३३ मेगावट क्षमता रहेको यस कालंगा जलविद्युत आयोजनाको ९२ प्रतिशत काम सकिएर आगामी पुसभित्र विद्युत उत्पादन गरि सक्ने लक्ष्य लिएको आयोजनाका प्रबन्धक वखतबहादुर शाहीले बताए । उनले भने, ‘हाम्रो यस कम्पनीबाट बुंगल क्षेत्रमा तीन वटा आयोजनाहरु सञ्चालनमा छन् । तीमध्ये कालंगा जलविद्युत आयोजनाको काम छिटो भएको हो ।’ यस आयोजनाको रुपैलमा रहेको विद्युत गृह निर्माण भएर उपकरणहरु जडान भइरहेका छन् ।

यसै खोलामा निर्माण भइरहेको ३८.४६ मेघावाट रहेको सानीगाढ जलविद्युत आयोजनाको ७.८ किलोमिटर सुरुङमध्ये अब ३०० मिटरमात्रै खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । साथै अर्को १०.७० मेघावाट क्षमता भएको बुंगल जलविद्युत आयोजनाको २.८ किलोमिटर लम्बाई सुरुङमध्य ७१२ मिटरमात्रै बाँकी रहेको पनि आयोजनाका प्रवन्धक शाहीले बताए । तीन वटै आयोजनाको १४ किलोमिटर सुरुङ खन्ने काम भइरहेको छ ।

तीन वटै आयोजनाको विद्युत उत्पादन आगामी बर्षभित्र सकाएर बुंगल हुँदै दार्चुला चमेलिया जलविद्युतसँग जोड्ने लक्ष्य रहेको छ । स्वदेशकै प्राविधिकहरुबाट भएको डिजाइन, स्टीमेट स्वदेशी लगानी र स्वदेशी कामदारबाटै निर्माण भएको यो आयोजना सुदुरपश्चिमकै गौरवको आयेजना रहेको बताउँदै लगानीकर्ता शिव घिमिरेले भने, ‘अब नेपालमा योजना बनाउन आफूहरु सक्षम छौं ।’ उनले यो सफलता लगानीकर्तालाई मात्र नभई राज्यलाई नै फाइदा पुग्ने बताए ।

निर्माणाधीन तीन वटै परियोजनामा दक्ष, अदक्ष गरी ५०० कामदारमध्ये ३०० स्थानीयहरुले रोजगार पाएको पनि बताए । बुंगल क्षेत्रमा जलविद्युतको काम भइरहदा यस क्षेत्रका स्थानीयहरुको आयआर्जनमा समेत फाइदा भएको छ । यस आयोजनामा लगानीकर्ताहरु उमेश श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र मल्ल, राजेन्द्रप्रसाद श्रेष्ठ तीर्थराज चठौत र शिवप्रसाद घिमिरे रहेका छन् । बुंगलमा निर्माण भएका तीन वटै जलविद्युत आयोजनाबाट ६५ मेघावाट विद्युत उत्पादन हुने भएको छ ।

लगानीकर्ता र बैङ्कको गरी झन्डै १० अर्बको लागतमा तीन वटै आयोजना निर्माण हुन लागेका हुन् । उक्त हाइड्रो प्रालिका सिइओ पुस्कर चित्रकारले हाइड्रोको डिजाइन सबैभन्दा राम्रो भएको र तीन बर्षपछि आयोजना राज्यलाई बुझाउनु पर्ने भए पनि नेपालमै विकास गर्नुपर्छ भनेर आफुहरुले काम गरेको बताए । उनले आम्दानीको बार्षिक १० प्रतिशत स्थानीय तहले समेत पाउने समेत जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतवार ०७:३७