सूचनाको शक्ति - The Power Of Information

        

अन्तिम गृहकार्यमा ओली–प्रचण्ड

नेकपाका अध्यक्षद्वय ओली–प्रचण्ड मन्त्रीमण्डल पुनर्गठनको मापदण्ड बनाउँदै

प्रचण्ड सेट नै फेर्ने, ओली केहीलाई राख्ने पक्षमा

काठमाडौं ।  मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर छलफल गर्नुभयो । तर, पुनर्गठन र नियुक्तिको साझा मापदण्ड बनाउन सक्नुभएन ।

झन्डै तीन घण्टा चलेको छलफलमा मन्त्रीमण्डल पुनर्गठनकै विषयमा अधिकांश समय गएको बुझिएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएपछि अध्यक्षद्वयले यसलाई कार्यान्वयन गर्ने अभ्यास थाल्नुभएको हो । पछिल्लो नेकपा सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठन गर्ने एजेन्डाले प्रवेश पाएपछि पुनः कोभिड महामारीलाई छायामा पार्ने गरी नेकपा पुनर्गठन र नियुक्तितिर केन्द्रित भएको छ ।

दुई अध्यक्षबीच मन्त्रिपरिषद् पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताको विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठनमा तीन विकल्प प्रस्तुत गरे पनि अहिलेसम्म मापदण्ड तय हुन सकेको छैन । दुई अध्यक्षबीच यस विषयमा पुनः छलफल हुनेछ ।

मंगलबारको सचिवालय बैठकले संविधानअनुसार संवैधानिक नियुक्तिहरू गर्न सरकारलाई सुझाव दिएको थियो । सोही बैठकले पार्टी एकता र एकीकरणका बाँकी काम पूरा गर्न १० दिनभित्र कार्ययोजना तयार गर्न पनि अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको थियो । दुई अध्यक्षबीच बाँकी रहेको सांगठनिक एकीकरणको काम पूरा गर्ने विषयमा पनि छलफल भएको थियो ।

पार्टीभित्रको एकता, समझदारी र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारको कामलाई प्रभावकारी ढंगले अगाडि बढाई सरकारको विश्वसनीयता अझ बढी बनाउने र सरकारलाई अझ सफल बनाउनेतर्फ अघि बढ्ने नेकपाको तयारी छ ।

मन्त्रीमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले अहिले रहेका केही मन्त्रीलाई निरन्तरता दिनुपर्ने अडान राख्नुभएको छ भने अध्यक्ष प्रचण्डले भने दुई वर्ष कार्यकाल पूरा भएका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउनुपर्ने अडान राख्दै आउनुभएको छ ।

चार महिना लामो आन्तरिक विवाद समाधान गरेको नेकपाभित्र अहिले मन्त्रीमण्डल पुनर्गठनको एजेन्डाले प्राथमिकता पाएको छ । मन्त्री भएकाहरूलाई मन्त्रीमै यथावत् राख्न र मन्त्री बन्ने आकांक्षीहरू प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमलटारमा धाउने क्रम पनि बढेको छ । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ११:५४