सूचनाको शक्ति - The Power Of Information

        

एघार सदस्यीय मानवअधिकार रक्षक सञ्जाल गठन

बझाड । बझाङ जिल्लामा मानव अधिकारका क्षेत्रमा काम गर्ने विभिनन संघसंस्था तथा व्यक्तिहरुको सहभागितामा जिल्लामा एउटा मानअधिकार रक्षक सञ्जाल गठन गरिएको छ । विहिबार अधिकारकर्मीहरुको औपचारिक बैठक बसी दलित अधिकारकर्मी, भिम रसाइलीको संयोजगत्वमा ११ सदस्य समिति गठन भएको छ । समितिमा अन्य सदस्यहरु गिता शाही, सिता सिंह, टेकेन्द्र बोहोरा, आशिष सिंह, अधिवक्ता शिवराज जोशी रहेका छन् ।

साथै समितिमा पत्रकारहरु रिदम सिंह, अन्जु खड्का, सत्यराज सिंह, प्रताप आलीसहित इन्सेक प्रतिनिधि रमेश केसी पनि समितिमा रहेका छन् । सञ्जालको सल्लाहाकार समितिमा पत्रकार बसन्तप्रताप सिंह, जगदीस रोकायासहित नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंह अधिवक्ता बार एसोसियसनका अध्यक्ष महोन दौल्याल र दलित अगुवा श्याम सुनार पनि सल्लाहाकार समितिमा रहेका छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय दलित नेटवर्कका श्याम सुनारले बझाङ जिल्लामा मात्रै नभएर जिल्लाका १२ वटै स्थानीय तहमा मानवअधिकार रक्षक सञ्जाल गठन गर्नुपर्ने र मानवअधिकारका क्षेत्रमा सबैले आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए । पत्रकार महासंघ जिल्ला अध्यक्ष जगदीस रोकायाले मानव अधिकार हनन् भइरहँदा पनि व्यक्तिहरुले मानवअधिकारका लागि आवाज नउठाउने गरेको र आगामी दिनमा आ–आफ्नो क्षेत्रबाट पैरवी गर्नुपर्ने बताए ।

पत्रकार बसन्तप्रताप सिंहले मानवअधिकारलाई मौलिक अधिकारको रुपमा संविधानमा रहेको सबै मानिसहरुको गासबास र कपासबाट बञ्चित भएका मानिसको आवाजसमेत उठाउनुपर्ने बताए । सञ्जाल गठन भएपछि आगामी दिनमा जिल्लाको मानवअधिकारको अवस्थाबारे अध्ययन गरी मानवअधिकारका पक्षमा पैरबी गर्ने भएको समितिले जनाएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेकको आयोजनामा र डिसिए परियोजना अन्तरगत सञ्जाल गठन गरिएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ०८:२३