सूचनाको शक्ति - The Power Of Information

        

खयरभट्टीमा सशस्त्रको विओपी स्थापना गरिने

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–४ मा पर्ने गुर्दनगौडीमा सशस्त्र प्रहरी बलको विओपी क्याम्प स्थापना गरिने भएको छ । करिव डेढ दशक अघि पत्ता लागेको नयाँ बस्तीका रुपमा परिचित उक्त ठाउँमा सरकारले सशस्त्र प्रहरीको विओपी क्याम्प स्थापना गर्न लागेको हो । विओपी स्थापनाका लागि त्यस क्षेत्रमा पुगेर जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतले स्थलगत निरीक्षण गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, सम्शेरगन्जस्थित सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक प्रकाशकुमार सुवेदी, राप्तीसोनारी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष कान्छा थारु, वडा नं. ८ का वडाध्यक्ष खुमबहादुर बस्नेत, जनप्रतिनिधि, समाजसेवी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर बुधबार स्थलगत निरीक्षण गरेको थियोे ।

स्थलगत निरीक्षण गर्न पुगेका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख समक्ष स्थानीयबासीले आफुहरु राज्यका हरेक सेवा, सुविधाबाट बञ्चित हुनु परेको दुखेसो पोखेका थिए । सुर्योदय प्राथमिक विद्यालय ब्यवस्थापन समिति गुर्देनगौडीका अध्यक्ष तिलक घर्ती लगायत स्थानीयबासीले आवतजावतका लागि भरपर्दो बाटो, टेलिफोन, खानेपानी, शान्ति सुरक्षा, कृषि तथा पशुसेवा अत्यावश्यक रहेको बताए ।

अधिकांस स्थानीयले बाटो, सञ्चार, खानेपानी, शान्ति सुरक्षाको असुविधा रहेको बताएका छन् । स्थानीय बासिन्दाले राखेका गुनासोलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाले त्यस क्षेत्रको विकासका लागि हरेक वर्ष प्राथमिकतामा पारेको बताए । त्यहाँ सञ्चार अन्तरगत टेलिफोट टावर स्थापना गर्नुअघि सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुनुपर्ने उनको भनाई छ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य र बाटो मर्मतका लागि हरेक वर्ष प्राथमिकतामा राख्दै आएको अध्यक्ष थारुले स्पष्ट पारेका थिए । यस्तै सशस्त्र प्रहरी बल सम्शेरगन्ज बाँकेका सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले नेपाल–भारत सिमानाका अन्तरगत प्रत्येक १० किलोमिटरको फरकमा सशस्त्र प्रहरी बलको एउटा विओपी राख्ने सरकारको नीति अनुरुप यसवर्ष राप्तीसोनारी गाउँपालिकाको गुर्देनगौडी र बानवा नाकामा स्थापना गर्ने योजना रहेको जानकारी दिए ।

त्यस क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति भएमा सिमा स्तम्भको सुरक्षाका साथै नागरिकको पनि सुरक्षा गरिने उनले बताए । त्यस क्षेत्रमा खयरभट्टी, गुर्देनगौडी, महेशपुर, बासखोली, झुरुवा लगायत गरी आधा दर्जन बढी गाउँ रहेका छन् । त्यहाँको पछिल्लो तथ्यांक अनुसार १७० घरधुरी बसोबास गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ०८:१५