सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

मनसुन अझै केही दिन रहने, यस्तो छ आइतबारसम्मको वर्षा अनुमान

पानी पर्ने क्रम आजैबाट कम हुँदै जाने

काठमाडौं । मनसुन अझै केही दिन रहने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। तर पानी पर्ने क्रम भोलि शनिबारबाट कम हुने सम्भावना देखिएकाे उनीहरूले बताएका छन्।

मौसमविद् वरुण पौडेलका अनुसार हिजो (बिहीबार) भन्दा आज र आजभन्दा भोलि पानी पर्ने क्रम कम हुँदै जाने सम्भावना छ। ‘मनसुन अझै २–४ दिन रहने देखिन्छ,’ शुक्रबार बिहान उनले भने, ‘तर पानी पर्ने क्रम आजैबाट कम हुँदै जाने सम्भावना छ।’

नेपालबाट मनसुन बाहिरिने औसत मिति यही सेप्टेम्बर २७ अर्थात् बुधबार थियो। तर झन् केही दिनयता देशभरजसो भारी वर्षा भएको छ। ‘कहिलेकाहीं यस्तै हुन्छ,’ मौसमविद् पौडेलले भने, ‘यसलाई मनसुनको उतारचढाव भनिन्छ, कुनै वर्ष मनसुन भित्रिने सुरुकै समयमा वर्षा बढी हुन्छ, कहिले बीचमा त कहिले अन्तिम समयमा।’ उनका अनुसार यो कुनै अचम्मको कुरा होइन, नियमित प्रक्रिया नै हो।

पछिल्लो समय सबैभन्दा बढी वर्षा पूर्वका प्रदेशमा भएको उनले जानकारी दिए। उनका अनुसार कास्की, स्याङ्जा, विराटनगर, भैरहवालगायत स्थानमा अति भारी वर्षासमेत भएको छ।

सय मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ। यस्तै ५० देखि सय मिलिमिटरसम्मको वर्षालाई भारी तथा १० देखि ५० मिलमिटरसम्मको वर्षालाई मध्यम वर्षा मानिन्छ। १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा भनिन्छ।

यसबीच काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएको छ। ७५ मिलिमिटरसम्म वर्षा भएको मौसमविद् पौडेलले जानकारी दिए। ‘तुलनात्मक रूपमा सुदूरपश्चिममा पानी कम परेको छ,’ उनले भने।

उनका अनुसार पानी पर्ने क्रम आजदेखि नै कम हुने सम्भावना छ। ‘सुदूरपश्चिममा त आज घाम लाग्ने सम्भावना छ,’ मौसमविद् पौडेलले भने। तर अन्य प्रदेशमा आज दिउँसो र राति वर्षाको सम्भावना छ। कतिपय स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

उनका अनुसार अहिले बिहान पनि प्रदेश १, २, गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको वर्षा अनुमान- 

असोज ९ गते शुक्रबार
दिउँसो : देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

असोज १० गते शनिबार
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थान र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ।

राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थान तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १ का एक दुई स्थानमा मध्यमदेखि भारी वर्षाको समेत सम्भावना छ।

असोज ११ गते आइतबार
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १ का एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ०७:३६