सूचनाको शक्ति - The Power Of Information

        

मारमा किसान

सिक्टाको शाखा नहर कचनापुर र शम्सेरगन्जमा सिँचाइ अभाव

बाँके । सिक्टा सिँचाइ आयोजनाको मुल नहरमा पानी चलेको ६ महिना भए पनि कचनापुर र शम्सेरगन्जका किसानहरुले सिँचाइ सुविधा अझै पाउन सकेका छैनन् । मुल नहरमा पानी चले पनि शाखा नहर निर्माण नभएका कारण कचनापुर र शम्सेरगन्जका करिब ७०० किसानले पानी पाउन सकेका छैनन् ।

सिक्टाको मुल नहरसँगै जोडिएका कचनापुर, शम्सेरगन्ज, बालापुर र ढकेरी क्षेत्रमा करिब ४०० हेक्टर खेतीयोग्य जमिन छ । तर शाखा नहर निर्माण नहँुदा त्यस क्षेत्रका किसानले पानी पाउन सकेका छैनन् । नहरको गुरु योजना बनाउँदा नै ती गाउँहरुलाई पानी दिने गरी शाखा बनाउने योजना छुटेका कारण मुल नहर निर्माण भएको करिब सात वर्ष बितिसके पनि हालसम्म शाखा नहर निर्माण हुन नसकेको हो ।

ढकेरीका किसान पदम रानाले आँगन नजिकैबाटै बग्ने नहरको पानी नपाउँदा आफूहरु आकाशे पानीको भरमा खेती गर्न बाध्य रहेको बताए । आयोजनाले नहरमा बैशाखदेखि नै पानी सञ्चालन गरेपछि डुडुवा, कोहलपुर र नेपालगन्ज क्षेत्रको करिब १५ हजार हेक्टरमा धान खेतीका लागि किसानहरुले पानी पाएका छन् । नहरको पानीबाट सिँचाइ सुविधा पाएका किसानहरुको खेतबारीमा धानबाली बाली राम्रो भएको छ ।

धान बाली राम्रो भएपछि त्यस क्षेत्रका किसानहरु पनि उत्साहित भएका छन् । सिक्टा सिँचाइको मुहान क्षेत्रमा रहेका कचनापुर, शम्सेरगन्ज, बालापुर र ढकेरी गाउँका किसानहरुलाई जति सक्यो छिटो पानी दिने व्यवस्था मिलाउनुपर्ने सिँचाइ जल उपभोक्ता समिति बाँकेका अध्यक्ष शालिकराम डाँगी बताए ।

यता आयोजना प्रमुख लोकबहादुर थापाले भने यस क्षेत्रका किसानहरुलाई यसै वर्षदेखि पानी दिने गरी आयोजनाले तयारी गरिरहेको बताएका छन् । सिक्टा सिँचाइ आयोजना बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले १४ वर्षअघि निर्माण सुरु भएको हो । राष्ट्रिय गौरवको आयोजनाको निर्माणमा हालसम्म करिब १७ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार ११:०४