सूचनाको शक्ति - The Power Of Information

        

साग पदक विजेतालाई नगदसहित सम्मान

बाँके । १३ औ दक्षिण एसियाली खेलकुद सागमा रजत पदक प्राप्त गर्ने डुडुवा गाउँपालिकाका दुई जना खेलाडी र दुई जना कोचलाई आज नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

२०७६ मंसिरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्धारा आयोजित सागमा डुडुुवा गाउँपालिका–५ का सुशीला चन्द र निर्मला घर्तिमगरले रजत पदक प्राप्त गरेको र कोच खेलाडी पदमबहादुर बुढाथोकी र मुम्ताज अलीले खेलको माध्यमले गाउँपालिकाको नाम पहिचान गराएकोमा उनीहरुलाई सम्मान गरिएको हो ।

गाउँपालिकामा आज बुधबार एक कार्यक्रमको आयोजना गरि दुबै जना खेलाडीलाई दोसल्लासहित कदर पत्र र नगद रु जनही ५० हजारका दरले सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताए । चारै जना खेलाडीलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले नगदसहित सम्मान गरे ।

सम्मान गर्दै गाउँपालिका अध्यक्ष चौधरीले खेलकुदको माध्यमबाट राष्टियस्तरमा नै गरिमा बढाएको र डुडुवाको नामसमेत रोशन गरेको भन्दै खेलाडीको थप हौसला तथा उत्प्रेरणा जगाउन सम्मान गरेको बताए । उनले भने, ‘यो सम्मानले यहाँका थप स्थानीय खेलाडीहरुको उत्प्रेरणा बढाउनमा मद्दत गर्दछ ।’

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार ०७:२०