सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाले यस बर्ष रामलीला सञ्चालन स्थगीत

बाँके । नेपालगन्जमा यस बर्ष रामलीला नहुने भएको छ । प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा हुँदै आएको रामलीला मञ्चन यसपाली कोरोना संक्रमणका कारण स्थगीत गर्ने निर्णय गरिएको हो । नेपालगन्ज–१३ बाँकेबगीयामा घटस्थापनाका दिनदेखि रामलीला हुने गर्दथ्यो ।

१५३ औं वर्ष प्रवेश गरिरहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई यसपाली सार्वजनिकरुपमा नमनाइए पनि प्रतिकात्मकस्वरुप सोही स्थानमा पुजापाठ भने गरिने भएको हो । रामलीला सञ्चालक समितिका कार्यवाहक अध्यक्ष सन्तोषकुमार कनोडियाको अध्यक्षतामा मंगलबार बसेको साधारण सभा बैठकले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय गरेको हो ।

संरक्षक जैनेन्द्रकुमार टण्डन लगायतको उपस्थिति रहेको बैठकले रामलीला सञ्चालक समितिको पुनःगठन गर्दै उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष कनोडियालाई अध्यक्षमा मनोनीत गरेको छ । अध्यक्ष श्याम सुन्दर कनोडियाको केही दिनअघि मात्र निधन भएपछि उपाध्यक्ष कनोडियालाई सो पदमा चयन गरिएको हो । सभाले विषम परिस्थितिबीच अन्य कार्यक्रम सञ्चालनबारे आवश्यक अध्ययन गर्न सात सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

कार्यदलले सात दिनभित्र रामलीला मञ्चन बाहेकको कार्यक्रम स्वरुप र सञ्चालन प्रक्रियाबारे राय प्रस्तुत गर्ने सञ्चालक समितिका महामन्त्री जगदिशप्रसाद वैश्यले जानकारी दिए । विष्णुलाल कुमालको संयोजकत्वमा गठीत कायर्यदलमा आनन्दबहादुर कर्माचार्य, नन्दलाल वैश्य, भरतकिशोर वैश्य, सुरेन्द्रकुमार वैश्य, रमेशचन्द्र प्रजापति र प्रभाकर भट्टराई सदस्य रहेका छन् । सभाले वैंक खाता सञ्चालन, शोक प्रस्ताव लगायतका निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार १०:०७