सूचनाको शक्ति - The Power Of Information

        

सामाजिक सेवा दिवसमा खाद्यन्न वितरण

बझाङ । प्रगतिशिल युवा समाज बझाङले ४१ औं सामाजिक सेवा दिवसको अवसरमा विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका(११ का ५ घरपरिवारलाई प्रगतिशील युवा समाजले ३० केजी चामल, ३ किलो दाल, २ किलो नुन, २ लिटर तेल, २ केजी चिनी र चार वटा हातधुने साबुन पनि वितरण गरेको हो ।

‘सामाजिक सेवा राष्ट्रको गौरव, आजको प्राथमिकता, समृद्धि र सुखका लागि समाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने मुल नाराका साथ मनाइएको दिवसका अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले सामाजिक कार्यमा अग्रपंक्तीमा रहेर प्रगतिशील युवा समाजले सामाजिक सेवामा महत्वपूर्ण कार्य गर्दै आएको बताए ।

उनले दिवसको अवसरमा वितरण गरिएको खाद्यन्न सामाग्रीले जोखिममा रहेका घर परिवारलाई केहि दिन भए पनि राहात हुने बताए । खाध्य सामाग्री बुझ्दै जयपृथ्वी नगरपालिका–११ कि मेनुका रजकले भनिन्, ‘आफ्नो आयआर्जन, खेतिपाती छैन, राहात पाउँदा खुसी लागेको छ । केहीदिनका लागि भए पनि छाक टार्न सहयोग मिलेको छ ।’

प्रगतिशील युवा समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा केदारस्युँ गाउँपालिकाका वडा नं. ३ , ६, ७ र ८ का ६६८ घरपरिवार र जयपृथ्वी नगरपालिका वडा नं. १ , ६, ८, १० र ११ का ८५४ अति जोखिम बालबालिका र परिवारहरुलाइ कोरोनाका कारण बन्दाबन्दीमा समस्या परेकाहरुलाइ स्थानीय समुदायमा सहयोग पुग्ने उद्देश्यले खाद्यन्न सामाग्री सहयोग गरेको प्रगतिशील युवा समाजका कार्यक्रम संयोजक यज्ञराज जोशीले बताए ।

साथै जयपृथ्वी नगरपालिका र केदारस्यँु गाउँपालिकामा क्वारेन्टाइन व्यवस्थापनका लागि खाध्यान्न सामाग्री र जिल्ला विपद् व्यवस्थापन समिति जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकालाई ५५ सेट पीपीई सेट र स्वास्थ्य सामाग्रीसमेत सहयोग गरेको छ । प्रगतिशील युवा समाजका टिमलिडर लवराज जोशीले विद्युत आपूर्तिमा समस्या हुँदा कामकाज प्रभावित हुने भएकाले जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकामा २ लाख ७० हजार बराबरको सोलार सेटसमेत सहयोग गरेको बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार १०:०५