सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन

हुम्लामा हराएको सीमा पिल्लर नभेटिँदा नेपाल–चीनबीच विवाद

नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रको नेपाली भूभागमा चिनियाँ पक्षले बनाएका भवन ।

काठमाडौं । पिल्लर हराएको हुम्लाको सीमा क्षेत्रमा चीनले दाबी गरेको छ । १३ वर्षदेखि हराइरहेको नेपाल चीन ११ नम्बर सीमा स्तम्भ भएको क्षेत्रमा एकतर्फी रुपमा भवन बनाएको चीनले नक्सा देखाएरै सो क्षेत्र आफ्नो रहेको दाबी गरेको हो । भवन बनाएको क्षेत्र ५१ सय मिटर उचाइँमा छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी गाउँको लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाएपछि स्थलगत निरीक्षणका लागि शनिवार प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा संयुक्त सुरक्षा टोली त्यसतर्फ गएको थियो । सिडिओको टोलीलाई चिनियाँ पक्षले नक्साअनुसार भवन बनाएको भूमि चीनकै भएको बताए ।

चिनियाँ पक्षले सिडिओको टोलीलाई नक्सासमेत देखाएको टोलीका सदस्य एवं नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले जानकारी दिए । उनका अनुसार नेपाली पक्षलाई भेट्न सीमामा पीपीई लगाएर २५ जनाको चिनियाँ टोली आएको थियो । अध्यक्ष लामा सोमवार गाउँपालिका कार्यालय फर्किसकेका छन् ।

सिडिओ गिरीको नेतृत्वमा जिल्लाका सशस्त्र प्रहरी प्रमुख डीएसपी मोहन विष्ट, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका अधिकारीसहितको टोली भने लाप्चाबाट सीमा निरीक्षणका लागि हिल्सातिर लागेको छ । चिनियाँ पक्षले सीमामा एकतर्फी भवन बनाएको जानकारी आएपछि सिडिओको नेतृत्वको टोली पिल्लर अनुगमन तथा हराएको ११ नम्बर पिल्लरको अवस्थाबारे बुझ्न सीमा स्थलतर्फ गएको थियो ।

यसबारेमा चिनियाँ अधिकारीलाई पनि खबर गरिएको थियो । तर, न त पिल्लर भेटियो, न राम्रोसँग कुरा नै भयो । गाउँपालिका अध्यक्ष लामाले चिनियाँ पक्षले उक्त भवन व्यापारिक प्रयोजनका लागि बनाएको जानकारी दिएको बताए । ‘मैले सोधेको थिएँ । व्यापारिक प्रयोजनका लागि बनाएको भने । चिनियाँ सरकारले नै बनाएको हो । सीमामा तिब्बतीहरुले प्रयोग गर्छन्,’ उनले भने ।

चिनियाँहरुले नक्साका आधारमा सो क्षेत्र आफ्नो भएको दाबी गरेको र ११ नम्बर पिल्लर नभेटिँदा आफूहरुले केही भन्न नसकेको उनले सुनाए । ‘उनीहरुले हाम्रै नक्सामा पर्छ भने । नक्सा पनि देखाए । भवन निर्माण क्षेत्र पनि हाम्रै हो भने,’ अध्यक्ष लामाले भने, ‘पिल्लर नभेटिँदा हामीले बोल्ने आधार नै रहेन। चिनियाँको कुरा सुन्यौं र सो क्षेत्रको निरीक्षण गरेर फर्कियौं ।’

पिल्लर नभेटिँदा विवाद

यहाँको ११ नम्बर पिल्लर हराएको २०६४ सालमै हो । दायाँ भेगमा एक घण्टाको दुरीमा १२ नम्बर पिल्लर छ । यी पिल्लरहरु विक्रम सम्वत् २०१९ सालमा बनेको हो । ११ नम्बर पिल्लर कहाँनेर थियो भन्ने कसैलाई थाहा छैन । लाप्चा क्षेत्र शून्य पहुँच छ । सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीको पनि उपस्थिति छैन ।

गाउँपालिका अध्यक्ष लामाले लाप्चा क्षेत्रमा राज्यको नजर नै नपुगेर बेवारिसे अवस्थामा रहेको गुनासो गरे । ‘हाम्रो शून्य पहुँच छ, बेवारिसे छ । ११ नम्बर पिल्लरको खोजी हुनुपर्यो । गाउँपालिकाले सक्ने होइन राज्यले गर्नुपर्यो,’ उनले भने । उनले लाप्चामा सशस्त्रको बीओपी स्थापना हुनुपर्ने माग पनि गरे ।

१२ नम्बर पिल्लरका आधारमा सो भूमि नेपालकै हो वा चीनको भनेर भन्न नसकिने अध्यक्ष लामाको भनाई छ । ‘चाइनिजले घर बनाएको ठाउँ कसको एकीन गर्ने अवस्था छैन । कुन ठाउँमा पिल्लर छ भन्ने पनि स्पष्ट छैन । १२ नम्बरका आधारमा मार्किङ गर्ने आधार छैन । दुबैले मेरो नै हो भन्ने अवस्था छैन,’ उनी भन्छन्, ‘११ नम्बर स्तम्भ नभेटिएसम्म जेआर मार्किङ गर्न सकिँदैन । किनकि सीमा लाइन कहिले सिधा, कहिले घुमाउरो हुन्छ । १२ नम्बरकै आधारमा ठम्याउन सकिएन ।’

अध्यक्ष लामा ११ नम्बर पिल्लर खोज्न र चिनियाँ भवन निर्माणको विवाद सुल्झाउने काम राज्यले गर्नुपर्ने आफूहरुको धारणा रहेको बताउँछन् । नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार लाप्चा क्षेत्रमा चिनियाँ पक्षले ९ वटा भवन बनाएपछि स्थानीयले विरोध गरेका छन् । उनीहरुले उक्त भूमि नेपालकै भएको बताउँदै आएका छन् । तर पिल्लर हराउँदा नेपाली अधिकारीहरुले चिनियाँसँग स्पष्ट रुपमा ‘डिल’ गर्न सकेका छैनन् ।

लिमी–लाप्चा सडक बनाउने क्रममा २०६६ सालमै पनि चिनियाँ पक्षले पशु उपचारका लागि भन्दै लाप्चामै केही भवन निर्माण गरेको थियो । स्थानीयको विरोधपछि रोकिएको निर्माण कार्य अहिले फेरि अगाडि बढेपछि विवाद देखिएको हो । भवन निर्माण भएको ठाउँमा चिनियाँले स्थानीयलाई भने जान दिएका छैनन् ।

सिडिओ र सुरक्षा अधिकारीहरुको लेभलमा २०७२ सालमा सम्पन्न नेपाल–चीन सीमा बैठकमा पनि चिनियाँ पक्षद्वारा एकलौटी रुपमा निर्मित भवनबारे अनौपचारिक रुपमा कुरा उठेको थियो । त्यतिबेला चिनियाँ अधिकारीहरुले ‘तपाईहरुको गाइवस्तु रोगी हुन्छ । सीमा पार गरेर हाम्रोतिर आउँछ । रोग सार्दा हाम्रो वस्तुभाउ पनि रोगी हुन्छ । त्यहीँ भएर दुबै देशका पशुको उपचारका लागि बनाइएको’ भन्ने तर्क गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार ०९:१०