सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना सेवा बन्द भएपछि क्यान्सर अस्पतालमा उपचार नियमित

बाँके । बाँकेमा पहिलो कोरोना विशेष अस्पतालका रूपमा सञ्चालनमा आएको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना सेवा अब बन्द भएको छ । सरकारले खजुराको कोरोना विशेष सेवा भेरी अस्पताल नेपालगन्जमा स्थानान्तरण गरेपछि त्यहाँ रहेको कोरोना विशेष सेवा शनिबारबाट बन्द भएको अस्पताल विकास समितिका अध्यक्ष भक्तबहादुर केसीले जानकारी दिए ।

‘अब यस अस्पतालमा क्यान्सरका बिरामीको उपचार नियमित हुनेछ,’ अस्पताल विकास समितिका अध्यक्ष केसीले भने, ‘क्यान्सर अस्पतालमा कोरोनाका बिरामीको सफल उपचार गर्न पाएकोमा अस्पताल परिवारमा उत्साह छाएको छ ।’ खजुरामा २ शैय्या भेन्टिलेटर, ६ शैय्या आइसीयूसहित ५० शैय्याको कोरोना विशेष आइसोलेसन अस्पताल वैशाख १९ देखि सञ्चालनमा आएको हो ।

वैशाख १९ गते बाँकेका पहिलो कोरोना सङ्क्रमित ६० वर्षीय पुरुषको पहिलो उपचार यही अस्पतालमा भएको हो । अस्पतालका चिकित्सक डा. प्रविण गुप्ताले हालसम्म १९७ कोरोना सङ्क्रमितको सफल उपचार गरेर सबैलाई घर पठाइएको जानकारी दिए । शनिबार क्यान्सर अस्पतालका चिकित्सकसहित २२ कोरोना सङ्क्रमितलाई बिदाइ गरेर कोरोना विशेष सेवा बन्द गरिएको हो । खजुराबाट दिइँदै आएकोे सेवाको विकल्पमा भेरी अस्पतालमा १०० शैय्याको कोरोना विशेष अस्पताल सञ्चालनमा आइसकेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १०:०९