सूचनाको शक्ति - The Power Of Information

        

रात्री भोजमा जेसीबी लिएर जाँदा दुर्घटना, एक जनाको मृत्यु

बझाङ । बुंगल नगरपालिकाका प्रमुख धनबहादुर विष्टसहितको नेपाली काँग्रेसका नेता कार्यकर्ता सहभागी भएको रात्री भोजबाट फर्कन लाग्दा जेसीवी दुर्घटना भएको रहस्य बाहिर आएको छ । स्थानियका अनुसार नगरप्रमुख विष्टसहित काँग्रेसका स्थानिय नेता तथाले कार्यकर्ताले वडा नं १ दहबगरमा रात्री भोज गरेका थिए ।

आइतबार अबेर दहबगर पुगेका नगरप्रमुख विष्टलाई भेटन आस्थावान सबै भेला भएका थिए । दहबगरकै प्रतिष्ठित व्यापारीलाई पार्टी प्रवेश गराउन दहबगर पुगेका नगरप्रमुख सहितको टोलीले महेन्द्र मा.विका लेखापालको घरमा बसेर भोजभतेर गरेको स्थानियको भनाई छ । नगरप्रमुख विष्ट दहबगर पुगेपछि जेसीबी चालकसहित ६ जना कार्यकर्ता जेसीबी लगेर कालंगा हाइड्रो पावरको क्याम्पबाट भोजमा जान निस्केका थिए ।

राती हिडेर जान समय लाग्ने भएपछि कार्यकर्ताको समुहले नगरप्रमुखको गाडी फसेको र निकाल्न बोलाएको बाहाना गरेर क्याम्पबाट जेसीबी लगेर गएका थिए । उनीहरुले यस विषयमा विराबगडमा रहेको परियोजनाका प्रमुखलाई पनि जानकारी गराएका थिए । नगरप्रमुखको गाडी फसेकाले निकाल्न जाँदैछौ भनेपछि सीएमले अनुमति दिएका छन् । भोजभतेरमा पार्टी संगठन सुदृढिकरण र विस्तारका बारेमा पनि छलफल भएको थियो ।

उनीहरुले अत्याधिक मदिरा सेवन गरेर जेसीवी ल्याएर फर्कदै गर्दा अनियन्त्रीत भएर पल्टेको हो । नगरपालिका–१ दहबगर किक्रेट मैदान नजिक राती करिब १२ः३० बजे लु १ क १२७८ नम्बको जेसीवी दुर्घटना भएको हो । दुर्घटनास्थलमा जेसीबीमै मदिराका बोतल भेटिएको भए पनि प्रहरी आउनुभन्दा अघि ती बोतलहरु घटनास्थलबाट हटाइएको छ । यस विषयमा बुङगल नगरपालिका प्रमुख विष्टसँग बुझ्दा कुनै भोजभतेर वा पार्टी नगरेको दावी गरेका छन् ।

उनले आफ्ना शुभचिन्तकले बोलाएपछि दहबगर आएको बताए । आफुहरु भेटघाटको लागि दहबगर आएको तर अरुले भनेजस्तो कुनै पार्टी भोजभतेर नगरेको उनको भनाई छ । आफ्नो गाडी नफसेको र जेसीवी कस्ले र किन बोलाएको थियो । यस विषयमा आफु जानकार नभएको उनको भनाई छ । जेसीवी दुर्घटना परि बुङ्गल नगरपालिका १ भेरगडा बस्ने महेन्द्र मावि दहबगरको प्राथमिक तहका स्थायी शिक्षक ३४ वर्षिय मानबहादुर बोहराको ज्यान गएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएकोे छ । दुर्घटनामा बुंगल नगरपालिका–९ देउलीकोटका जेसीवी चालक २४ वर्षिय महेश खडायत, वडा नं १ दहबगरका २७ वर्षिय रामबहादुर बोहरा र ५० वर्षिय प्रताप धामी घाइते भएका छन् । जेसीवी कालंगा हाइड्रो पावरले भाडामा लिएर सञ्चालन गरिरहेको बुझिएको छ ।

जेसिबी सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय बुंगलका प्रहरी निरिक्षक नेत्रबहादुर बोहराले बताए । प्रहरी निरिक्षक बोहरा र जिल्ला प्रहरी कार्यालय चैनपुरबाट प्रहरी नायब निरिक्षक मदनसिंह धामी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार ०९:०१