सूचनाको शक्ति - The Power Of Information

        

आईपिएल: बैंग्लोरको विजय सुरुवात, सनराइजर्स हैदरावाद १० रनले पराजित

काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजय सुरुवात गरेको छ ।

दुबईमा गएराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो ।

खेलमा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ ओभर ४ बलमा १ सय ५३ रनमै समेटियो ।

उसका लागि इंग्लीश खेलाडी जोनी बेयरस्टोले ६१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । बैंग्लोरका युजभेन्द्र चाहलले ३ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

बैंगलोरका लागि डेभदत्त पडीक्कल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । डेब्यु खेलाडी पडीक्कलले ५६ रन जोड्दा डी भिलायर्सले ५१ रनको योगदान गरे ।

जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ । आईपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् । एजेन्सी

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार ०७:४३