सूचनाको शक्ति - The Power Of Information

        

शाहीले सम्हाले नरैनापुरको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार

बाँके । नरैनापुर गाउँपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले कार्यभार सम्हालेका छन् । आइतबारदेखि कार्यभार सम्हालेका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई गाउँपालिकाले एक कार्यक्रमबीच स्वागत गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रशासन तथा योजना शाखा प्रमुख विजयकुमार यादव र सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले स्वागत मन्तब्य व्यक्त गर्दै आफूहरु नयाँ अभिभावकसंग काम गर्न उत्साहित भएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत शाहीले नरैनापुर पहिलेजस्तो विकट नभएको भन्दै नरैनापुरलाई अब उत्पादन र रोजगारीसंग जोड्न जरुरी रहेको बताए । शाहीले सबै मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिने उल्लेख गरे । गाउँपालिकाका अध्यक्ष शाहले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय तथा कर्मचारीबीच एकता हुँदा मात्र जनअपेक्षा अनुसार काम गर्न सकिने बताए । जनतालाई छिटोछरितो सेवा प्रवाह गर्दै विकास पथमा गाउँपालिकालाई लम्काउन सवै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

जिन्सी शाखा प्रमुख भरत महतोले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ४ का अध्यक्ष दिनेशप्रसाद शर्मा, ६ का अध्यक्ष विरेन्द्रपाल सिंह लगायत सबै शाखा प्रमुख, कर्मचारीको उपस्थिति थियो । शाही यसअघि बैजनाथ गाउँपालिकामा प्रमुख प्रशासकीय थिए । यसैबीच अध्यक्ष शाह, प्रमुख प्रशासकीय अधिकृत शाही, जिन्सी शाखा प्रमुख महतोले आइतबार नै ६ वटै वडा कार्यालयको अनुगमन गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १४:४५