काठमाडौं । कोभिड–१९ का कारण बन्द भएको सात महिनापछि आज (सोमबार) बाट देशभरका विमानस्थलमा आन्तरिक उडान शुरु भएको छ । सरकारले ११ चैतदेखि बन्द गरेको आन्तरिक उडान ५ असोजबाट खुलाउने निर्णय गरेको थियो ।
शुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनले पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार सुरुका दिनमा ३६ देखि ४० उडान हुनेछ ।
स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घण्टा लम्बिएको छ । अब विगतमा एक घण्टाअगाडि विमानस्थल जानुपर्ने यात्रु दुई घण्टाअगाडि जानुपर्ने व्यवस्था गरिएको छ । नेपाल वायुसेवा निगमले सातामा १० आन्तरिक उडान गर्ने भएको छ ।
बुद्ध एयरले सोमबारबाट हवाई यात्रामा लागू हुने नियमलाई ‘पास मोडल’का रूपमा व्याख्या गरेको छ । पास (पिएएसएस) अर्थात् प्यासेन्जर, एयरपोर्ट, एयरक्राफ्ट र स्टाफ भनेको छ । प्रोटोकलमा सबै यात्रुले मास्क लगाई हात स्यानिटाइज गर्नुपर्ने व्यवस्था छ ।
विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग समन्वय गरेर बाह्य उडानतर्फका यात्रु ४ घण्टाअघि र आन्तरिक उडानतर्फका यात्रु दुई घण्टाअघि नै विमानस्थल पुगिसक्नुपर्ने नियम बनाएको थियो ।
तर सबै यात्रुलाई दुई घण्टाअघि नै विमानस्थल बोलाउनु अव्यवहारिक हुने भन्दै अहिले यात्रुलाई कति समयअघि विमानस्थल पुग्ने भनेर विमान कम्पनीले नै जानकारी दिनुपर्ने जनाएको छ ।
यसरी पालना हुन्छ सुरक्षा मापदण्ड
आन्तरिक उडान गर्ने बिमान कम्पनीहरुको संस्था वायुसेवा सञ्चालक संघले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गरेर उडान शुरु गरेको जनाएका छन् ।
संघका प्रवक्ता योगराज कँडेलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ, स्वास्थ्य मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका निकायबाट जारी भएका सबै मापदण्ड पालना गरेर उडान शुरु गरेको बताएका छन् ।
सत्यपाटी ।