सूचनाको शक्ति - The Power Of Information

        

पेरिसडाँडामा नेकपा सचिवालय बैठक शुरु

काठमाडौं । पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ।

पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालका अनुसार केही समयअघि पेरिसडाँडामा बैठक सुरु भएको हो । शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबारका लागि सारिएको थियो ।

सचिवालय बैठकले पार्टी एकताका बाँकी काम र मन्त्रिपरिषद् पुर्नगठन, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल गर्ने सचिवालयका एक सदस्यले जानकारी दिए।

बुधबार भएको प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक राख्ने तय गरेको थियो ।

यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो । २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता भएसँगै पेरिसडाँडामा नेकपाको पार्टी बैठक बसेको थिएन।

पेरिसडाँडामा जनवर्गीय संगठनको कार्यालय रहेकाले पार्टीका नेताहरू गइरहे पनि शीर्ष नेताहरूको बैठक भने बसेको थिएन। बैठकमा दुई अध्यक्षसहित सबै सदस्य सहभागि छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतवार १२:२७