काठमाडौं । स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको सत्याग्रहमा आज माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ।
७ दिनदेखि जुम्लामा सत्याग्रहमा रहेका डा केसीको स्वास्थ्य बिग्रिएको छ। उनलाई सदरमुकामनजिकैको अनशनस्थल बाबिरामष्टोको मन्दिरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
तर उनले आफ्नो माग पूरा गर्नुको सट्टा आफूलाई अपहरणको शैलीमा प्रतिष्ठान लगिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
शनिबार बिहान भएको स्वास्थ्य परीक्षणमा डा केसीको अवस्था कमजोर भएको र २४ घण्टा मनिटरिङमा राख्नुपर्ने अवस्था रहेको भन्दै चिकित्सकहरूले सुझाव दिएका थिए। तर डा केसीले आफू अनसन बसेको स्थान छोड्न मानेका थिएनन्।
शनिबार साँझ उनलाई बल प्रयोग गरी प्रतिष्ठानमा लगिएको हो।
सत्यपाटी ।