बाँके । कोरोना भाइरसबाट गम्भीर सङ्क्रमितको प्लाज्मा थेरापीबाट सफल उपचार गरिएपछि बाँकेमा प्लाज्मा दिने बढ्दै गएका छन् । भेरी अस्पताल प्लाज्मा सम्पर्क व्यक्ति डा.खगेन्द्रजङ्ग शाहका अनुसार बाँकेमा हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त भएका सात जनाले प्लाज्मा दिइसकेका छन् ।
डा.शाहका अनुसार हालसम्म प्रमोद रिजाल, रामराजा चौधरी, गोपालकुमार गिरी, रामहरि अधिकारी, खडानन्द पाण्डे, खगेन्द्र दाहाल र सन्तोष पाठकले प्लाज्मा दिइसकेका छन् । रिजाल, अधिकारी र पाण्डेले प्रदान गरेको प्लाज्मा प्रयोग भइसकेको छ । भेरी अस्पतालले प्लाज्माथेरापी उपचारमा पहिलो केसमै सफलता पाएपछि दाताहरुको संख्या पनि बिस्तारै बढिरहेको छ ।
प्लाज्मा विधि सफल भएपछि अस्पतालले अन्य संक्रमितलाई पनि प्लाज्मा दान गर्न आग्रह गरिरहेको छ । ‘प्लाज्मा विधि सफल भएपछि अहिले दाताहरुको संख्या बढ्दैछ । संक्रमणबाट मुक्त भएकालाई प्लाज्मा दान गर्न हामी आह्वान गरिरहेका छौं,’ डा. शाहले भने, ‘हामी प्लाज्माथेरापी विधिबाट उपचार सफल भएपछि धेरै खुसी भएका छौं ।’

भदौ २४ गते कोरोनाका गम्भीर बिरामीलाई प्लाज्मा दिँदै नेपाली सेनाका जवान रामहरि अधिकारी ।
नेपालगन्ज–१ का वडाध्यक्ष रिजालको प्लाज्मा सल्यान शारदा नगरपालिका–६ का प्रवीण केसीलाई चढाइएको थियो । कोरोनाबाट गम्भीर अवस्थामा पुगेका केसी त्यही प्लाज्माबाट निको भएर घर फर्किसकेका छन् । प्लाज्मा थेरापीकै कारण सल्यानका गम्भीर सङ्क्रमित निको भएपछि प्लाज्मा दिने बढ्दै गएका हुन् ।
प्लाज्मा दिने बढ्दै गएमा गम्भीर अवस्थाका सङ्क्रमितको उपचारमा सहज हुने चिकित्सकहरुले जनाएका छन् । प्लाज्माथेरापी उपचार विधिबाट कोरोना संक्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारी पनि हौसिएका छन् ।
‘प्लाज्माथेरापी सफल भएकोमा हामी खुसी छौं,’ डा.शाहले भने, ‘यसले अस्पताललाई मात्र नभई सिंगो पश्चिम क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । प्लाज्मा विधि सफल भएको छ ।’ बाँकेको भेरी अस्पताल र मेडिकल कलेजको कोहलपुर अस्पतालमा अझै पनि केही गम्भीर संक्रमितहरुको प्लाज्मा थेरापीबाट उपचार भइरहेको ती अस्पतालहरुले जनाएका छन् ।
सत्यपाटी ।