सूचनाको शक्ति - The Power Of Information

        

नेपाल कम्युनिष्ट पार्टी

नेकपा सचिवालय बैठक पेरिसडाँडामा आज बस्दै, मन्त्री हेरफेरको विषय छलफलमा

भौतिक दुरी कायम गरी आसनको व्यवस्था

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ । गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे सचिवालय बैठकमा छलफल हुने नेकपा नेताहरुले बताएका छन् ।

साथै पार्टी र सरकारका कामकारवाहीबारे पनि बैठकमा छलफल हुने बताइएको छ । बालुवाटारमा बसेको २६ भदौको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पारेको पारेको थियो । साथै पार्टी र सरकारको कामलाई संस्थागत ढंगले अघि बढाउन समन्वय गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय कार्यान्वयनका लागि उपयुक्त मापदण्ड बनाउने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा आजको बैठकमा छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालय स्रोतले जनाएको छ ।

बैठकमा पार्टीको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतवार ०८:५४