सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली भारु सटही नहुँदा समस्या

सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा भारतीय रुपैयाँ (भारु) सटही नहुँदा सर्वसाधारण तथा व्यवसायीले समस्या भोग्नुपरेको छ । विगतमा भारतीय सीमा नाका नजिक हुँदा सटही गरेर आउने र बजारमा व्यापारीले पनि सहजै साट्दा यस्तो समस्या हुँदैनथ्यो । अहिले भने भारतीय १०० रुपँयाँ पनि व्यक्ति, व्यवसायी तथा वित्तीय संस्थाले नसाट्दा समस्या बढेको छ ।

सरकारी र निजी दुवै बैङ्क र वित्तीय संस्थाले भारु साट्न छाडेका छन् । भारतीय रुपियाँ बजारमा प्रशस्त भए पनि सटही नहुँदा व्यवसाय गर्न कठिन भएको छ । वीरेन्द्रनगरका व्यवसायी लक्ष्मी भुसालले कारोबार गर्दा भारु धेरै जम्मा भएको तर बैङ्कले नसाटिदिँदा समस्या भएको बताए ।

उनले भारु बैङ्कले नसाट्ने, सामान खरिद गर्दा साहूले पनि लिन नमान्ने भन्दै पहिले त १००, ५० को नोट बैङ्कमा जम्मा हुने गरेकामा अहिले त्यो पनि बैङ्कले बन्द गर्दा गाह्रो भएको गुनासो गरे । कामदारदेखि बैङ्कसम्म भारतीय रुपियाँको कारोबार नहुँदा नसकेपछि व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउन लागेको उनको भनाइ छ ।

बैङ्क तथा वित्तीय संस्थाले सटही गर्न नमानेपछि कर्णाली प्रदेशमा व्यापारीसँग भारतीय मुद्रा थुप्रिएको छ । सर्वसाधारणले दैनिक उपभोग्य सामान खरिददेखि बजार र चलनचल्तीमा भारतीय रुपैयाँको प्रयोग गर्दै आएका छन् । भारतीय रकम सटही नहुने र नेपाली नोटको कमी हुँदा आर्थिक कारोबारमा समस्या परेको छ ।

प्रदेशमा भित्रिएको भारु साट्न सरकारले तत्काल कदम चाल्नुपर्ने व्यवसायी सङ्घको माग छ । सुर्खेत उद्योग वाणिज्य सङ्घका सचिव लक्ष्मण कँडेलले सरकारले सहजै सटही गर्ने व्यवस्था नगरे सर्वसाधारणदेखि व्यापारीसम्मलाई आफ्नो दैनिकी चलाउन मुस्किल हुने बताए । उले नेपाल राष्ट्र बैङ्कको कर्णाली प्रदेश कार्यालयमा पनि भारतीय रुपैयाँ सहटी गर्ने व्यवस्था मिलाइदिन आग्रह गरिएको जानकारी दिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले बन्दाबन्दी गरेकै अवधिमा वैदेशिक रोजगारीमा गएका झन्डै डेढ लाख कर्णालीवासी गाउँ फर्किएको प्रदेश सरकारको अनुमान छ । उनीहरूमार्फत प्रदेशमा कति भारतीय रुपियाँ भित्रियो भन्ने एकिन तथ्याङ्क राष्ट्र बैङ्कसँग पनि छैन । कर्णालीको १० जिल्ला हेर्नेगरी स्थापना भएको राष्ट्र बैङ्कले समेत भारतीय रुपियाँको सटही गर्न सकेको छैन ।

नेपाल राष्ट्र बैङ्क कर्णाली प्रदेश प्रमुख डा.शालिकराम पोखरेलले भारतीय रुपैयाँ सटही गर्ने जिम्मा आफूहरूको भए पनि पूर्वाधार र पर्याप्त जनशक्ति तथा ढुकुटी नहुँदा गर्न नसकिएको बताए । उनले जनशक्ति, ढुकुटी, पूर्वाधारको पर्याप्त व्यवस्था हुनासाथ सटही गर्न सकिने उल्लेख गरे । अझै पनि विदेशी मुद्रा सटही गर्न प्रदेश ५ को नेपालगन्जमा रहेको राष्ट्र बैङ्कमा पुग्नुपर्ने अवस्था छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतवार ०८:४७