सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

आधार कार्ड देखाउँदै दैनिक ३०० नेपाली भारततिर

बाँके । कोभिड १९ महामारीको अत्याधिक जोखिमकै बीच पनि रोजगारीका लागि नेपालगन्ज नाका भएर भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै गएका छन् । गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल भारत नाका जमुनाहा भएर २५ सय बढी नेपाली भारत छिरेको ईलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीले भदौ २७ गतेबाट दैनिक तीनसयको हाराहारीमा रोजगारीका लागि नेपालीह भारतका विभिन्न सहरमा गैरहेको बताउनुभयो । प्रमुख गिरीका अनुसार एकसाताको अवधिमा करिब २५ सय नेपाली यो नाकाबाट भारत फर्किसकेका छन् ।

उनले कोरोनाका कारण नेपाल भारत सीमाना बन्द भए पनि भारतमा रोजगारी गर्ने अधिकांश नेपालीसँग भारतीय आधार कार्ड रहेकोले सोही देखाएर उनीहरु फर्किरहेको बताए । भारतमा बन्दाबन्दी हुँदा काम नपाई बाध्य भएर नेपाल फर्किएको बताउँदै पहाडी जिल्लाका नेपालीले नेपालमा पनि रोजगारी नपाएपछि फेरि बाध्य भएर भारतनै जानुपरेको बताएका छन् ।

भारत जान भनि जमुनाह नाकामा पुगेका दैलेख नारायण नगरपालिका–४ का दीपक थापाले नेपाल फर्किएको तीन महिना पुगे पनि गाउँघरमा कुनै काम नपाएपछि भोकै बस्ने अवस्था आएकोले फेरी बाध्य भएर रोजगारीका लागि भारतको शिमला जान थालेको बताए । उनले आफ्नो देशमा रोजगारी नपाएर नै विदेशी भुमिमा गएर दुखकष्ट सहनुपरेको दुखेसो सुनाए ।

यस्तै सल्यान थारमारेका अर्का युवक रामबहादुर विकले पनि नेपालमा रोजगार नपाएपछि फेरि भारत फर्किन थालेको बताए । उनले कोरोना भन्दा पेट पाल्ने चिन्ता बढी भएपछि फर्किएको जनाए । कोरोनाको डरले नेपालमा बस्दा छाक टार्नै समस्या हुन थालेपछि भोकैभन्दा रोगसँग लड्दै रोजगारीमा लाग्ने ठानेर आफुहरु भारत फर्किन लागेको अधिकांश नेपालीको भनाई छ ।

भारतमा बन्दाबन्दी शुरु भएपछि कामबाट निकालिएका नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र देखाएर स्वदेश छिरेका थिए भने अहिले भारत जानका लागि भारतीय आधार कार्ड देखाइरहेको जमुनाहा प्रहरीले जनाएको छ । नेपाली नागरिकता भएकालाई नेपाल आउन र भारतीय आधार कार्ड भएकालाई भारत जान सजिलो भएपछि भारत जाने अधिकांश नेपालीले आधार कार्ड बोकेर आइरहेको जमुनाह प्रहरी प्रमुख गिरीले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतवार ०८:३०