बाँके । नेपालगन्जस्थित भेरी अस्पताल लगायत बाँकेका तीन स्थानमा पीसीआर परीक्षण सुरु गरिएपछि सर्वसाधारणलाई सहज भएको छ । यसअघि भेरी अस्पतालको प्रयोगशालामा मात्रै पीसीआर परीक्षण हुँदै आएको थियो । सरकारले बागेश्वरी पोलिक्लिनिक र नेपालगन्ज मेडिकल कलेजलाई परीक्षणको अनुमति दिएपछि हाल तीन ठाउँमा परीक्षण सेवा उपलब्ध भएको हो ।
यसअघि भेरी प्रयोगशालामा मात्र परीक्षण हुने गरेकामा अत्यधिक चापका कारण नतिजा आउन ढिलाइ हुने गरेको थियो । अन्य दुई ठाउँमा थप सुविधा भएपछि परीक्षण गराउन सहज एवं नतिजा पनि छिटो आउने गरेको छ । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पतालको प्रयोगशालामा हाल लक्षण देखिएकाको मात्र पीसीआर हुने गरेको बताए ।
आफूूखुसी र अन्य प्रयोजनका लागि परीक्षण गराउनेहरू बागेश्वरी पोलिक्लिनिक र नेपालगन्ज मेडिकल कलेजमा गराइरहेको जानकारी उनले दिए । बागेश्वरी पोलिक्लिनिक र नेपालगन्ज मेडिकल कलेजमा पीसीआर परीक्षण गराउँदा प्रतिव्यक्ति दुई हजार रुपैयाँ शुल्क लाग्ने गरेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
यसैगरी लक्षण नभएका सङ्क्रमितका लागि बाँकेमा होम आइसोलेसनको व्यवस्था पनि गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितले जिल्लाका आइसोलेसन भरिएपछि लक्षण नभएकालाई घरमै बस्ने व्यवस्था मिलाइएको हो । बाँकेमा आइतबार थप ४१ सङ्क्रमण मुक्त भई घर फर्किदैछन् ।
कोरोना फोकल पर्सन श्रेष्ठले विभिन्न आइसोलेसन सेन्टरमा रहेका ४१ जना आज आइतबार डिस्चार्ज भएसँगै बाँकेमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या १ हजार २४४ पुगेको बताए । उनले हाल बाँकेमा निको हुने दर ७८.२४ प्रतिशत पुगेको पनि बताए । शनिबारसम्म निको हुने दर ७५.६६ प्रतिशत थियो ।
सत्यपाटी ।