सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

रेलमा झेल ! भारतले नेपाललाई दिएको खुलासा

बाँके । लामो चर्चा र प्रतिक्षापछि शुक्रवार नेपाली रेल जनकपुर आएको छ । रेल हेर्न सर्वसाधारणको जनकपुरमा भीड नै लाग्यो । कोही आफ्ना बालबालिका र कोही वृद्ध आमाबुवालाई लिएरसमेत रेल हेर्न पुगे । जनकपुरमा देखिएको भिडले महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) लाई पनि बिर्सायो ।

कोरोनाको कुनै पर्वाह नगरी सर्वसाधारण रेल हेर्न जम्मा भए । रेलप्रति सर्वसाधारणको आकर्षण कति रहेछ भन्ने कुरा यसले पुष्टि गर्छ । हुन त जकपुरमा सर्वसाधारणले रेल नै नदेखेका भने होईनन् । केहि समय अघिसम्म पनि जयपुर–जनकपुर रेल संचालमा थियो । तर, वर्षाका कारण लिकमा भएको क्षतीका कारण त्यो रेल सेवा अवरुद्ध भयो ।

त्यसैले पनि उनीहरुमा नयाँ रेल आएको सुन्दा हेर्ने लालसा देखियो । अर्कोतर्फ नेपालमा पनि चिप्ला रेल कुदाउने प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुनेका सर्वसाधारणमा सोहि अनुसारको रेल हेर्ने अपेक्षा थियो । जनकपुर आएको रेललाई ‘केपी ओलीको सपना साकार भएको’ भन्दै अथ्र्याउनेहरुका कारण पनि जनकपुरमा सर्वसाधारण भीड लागेको पाइयो ।

तर, अथ्र्याए जस्तो जनकपुर आएको रेल प्रधानमन्त्रीको सपना भने होइन । सामाजिक सञ्जालमा रेलका विषयमा भ्रम छरिएको जानकारहरु वताउँछन् । शुक्रवार आएको रेल र सञ्चालनको तयारीमा रहेको सेवा बि.सं. १९८४ देखि नै सञ्चालित सेवा हो । त्यतिवेलाको सेवा भारतको जयनगरदेखि बाराको अमलेखगञ्जसम्म थियो ।

तत्कालिन बृटिस शासकले नेपाली जंगलको काठ ओसार्न सुरु गरेको रेल सेवाले पुर्व–दक्षिण धनुषा तथा सिरहाका सर्वसाधारणलाई सुविधा दिएको थियो । उनीहरुलाई जनकपुरसम्म पुग्ने प्रमुख साधनको रुपमा थियो, रेल । तर, रेलको इन्जिन, डब्बा, लिकसमेत निकै जिर्ण भएपछि रेल सेवा अनियमित हुँदै बन्द भएको जानकारहरु वताउँछन् ।

अवरुद्ध रेलसेवा ब्रोडगेज मोडेलमा सञ्चालन गर्न ११ वर्षअघि नै नेपाल र भारतबीच सम्झौता थियो । तर, कार्यान्वयनमा ढिलाई भएको थियो । अहिले सामाजिक सञ्जालमा रेलको बिषयमा मिथ्या र भ्रामक प्रचार गरेर सर्वसाधारणलाई भ्रमित गर्ने काम भइरहेको छ । ‘११ वर्षअघिको सम्झौता बल्लबल्ल कार्यान्वयनमा आएको छ, अनि कसरी पुरा भयो प्रधानमन्त्रीको सपना ?’

प्रदेश २ का प्रदेश सभा सदस्य विदेश्वर यादव (विक्की) भन्छन्, ‘यो रेल सेवा कतिपय प्रचार गरिए जस्तो न त प्रधानमन्त्री ओलीको सपना हो, न त उनको योजना ।’ प्रदेश सभा सदस्य यादवले अव प्रधानमन्त्री ओलीले भनेझैं हिन्द महासागरमा चलाउने पानीजहाज र पहाडका कुना कन्दरा कुद्ने चुच्चे रेल चाहिँ कहाँसम्म आईपुग्यो सोधिखोजी गर्ने वेला आएको वताए ।

यता नेपाल सरकारले करोडौ खर्चेर भारतबाट रेल ल्याएको बताइरहदा भारतीय रेलमन्त्रीले भने भारतले नेपालालाइ रेल दिएको बताएका छन् । भारतीय रेलमन्त्री पियुस गोयलले नेपालले भर्खरै भारतबाट ल्याएको रेल किनेर ल्याएको नभै भारतले दिएको बताएका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले ट्वीटरमा नेपाल–भारत प्राचीन सांस्कृतिक र सौहार्द्रपूर्ण सम्बन्ध रहेको र सम्बन्धलाई नयाँ आयाम दिँदै भारतीय रेलवेले नेपाललाई ट्रेन सेट दिएको उल्लेख गरेका छन् । नेपालले खरीद गरेको रेलालाई भारतीय रेलमन्त्रीले अनुदानमा दिएको आशय ब्यक्त गर्नुलाई नेपाललाई हेर्ने भारतीय दृष्टिकोण अझै पनि त्रुटिपूर्ण रहेको जानकारहरु बताउँछन् । रेल किनेर ल्याएको हो कि अनुदानमा भारतले दिएको हो नेपाल सरकारले स्पष्ट पार्नुपर्ने उनिहरुको भनाइ छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतवार ०७:१७