सूचनाको शक्ति - The Power Of Information

        

विकास

धान खेतीको सिजनभर सिक्टा नहरमा पानी, किसानहरू उत्साहित

बाँके । सिक्टा सिँचाइ आयोजनाको मूलनहरमा धान खेतीको सिजनभरि नै पानी चलेपछि बाँकेका किसानहरू उत्साहित भएका छन् । वैशाख १ गतेदेखि नै सिक्टा सिँचाइ आयोजनाले किसानको मागअनुसार पश्चिमी मूलनहरमा ३ देखि ४ क्युसेक पानी सञ्चालन गर्दै आएको छ ।

सिक्टाको नहरबाट बाँकेको डुडुवा, कोहलपुर र नेपालगन्ज क्षेत्रको करिब १५ हजार हेक्टरमा धान खेतीका लागि किसानले पानी पाएका छन् । सिजनभरि नै पानी पाएपछि धान बाली राम्रो भएको छ । धानको उत्पादन वृद्धि हुने देखिएपछि किसानहरु पनि उत्साहित भएको सिँचाइ जल उपभोक्ता समिति बाँकेका अध्यक्ष शालिकराम डाँगीले बताए ।

निर्माण कम्पनीको बदमासी, प्राविधिक तथा दक्ष कर्मचारीको अभाबका कारण मुल नहरको निर्माण सकिएको दुई वर्ष बितिसके पनि ७ वटा शाखा र ५० भन्दाबढी प्रशाखा निर्माणको कामले गति लिन सकेको छैन । मुल नहरबाट किसानको खेतसम्म पानी पुर्याउन करिब १०० किलोमिटर लामो शाखा र प्रशाखा नहर निर्माणमा ढिलाइ हुँदा अझै पनि २० हजार हेक्टरमा सिँचाइ सुबिधा पुग्न सकेको छैन ।

किसानहरुको खेतबारीमा वर्षैभरि भरपर्दो सिँचाइ सुविधा पुराउने लक्ष्यका साथ सिक्टा सिँचाइ आयोजनाले मुल नहरको मर्मत सम्भार गर्दै पानी चलाउँदै आएको छ । आयोजना अन्र्तगतको बालापुर ढकेरी क्षेत्रका करिब ६ किलोमिटर नहर मूलनहर घुलनशील माटोका कारण हरेक वर्ष वर्षातका बेला बर्सेनि क्षति हुने गरेको छ ।

२०७५ साउन ७ गते राती ढकेरी बालापुर क्षेत्रमा पर्ने चंगाई खोला नजिकै मुल नहर भत्कियो । भत्किएको नहरको मर्मत सम्हार आयोजना वा नहर निर्माण गर्ने ठेकेदार कम्पनी कसले गर्ने भन्ने अन्यौलका कारण समयमै मर्मत सम्हार नहुँदा झन्डै दुई वर्षसम्म बाँकेका किसानहरुले धान खेती गर्ने सिजनमा पानी पाउन सकेका थिएनन् ।

२०७६ वैशाख १० गते मन्त्रिपरिषदले सिक्टा सिँचाइ आयोजनाको क्षतिग्रस्त खण्डको मर्मत तथा सुधारको काम आयोजनाले नै गर्ने निर्णय गर्यो । तर वर्षात सुरु भएका कारण मर्मतको नसकिएका कारण नहरमा पानी चलेन । गत वर्षको हिउँददेखि नै सिक्टा सिँचाइ आयोजनाले भत्किएको नहरको प्यानल र घुलनशिल माटोका कारण प्वालहरु परेको नहर खण्डको मर्मत संहार गर्दै आएको छ ।

क्षतिग्रस्त नहरको मर्मत संहारसँगै पानी पनि चलाउने गरिएको आयोजनाका प्रमुख लोकबहादुर थापाले बताए । बाँके जिल्लाको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले १४ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य २०७० को माघसम्म पूरा हुने लक्ष्य राखिएको थियो ।

तर, निर्माण सम्पन्न हुनुपर्ने अवधि सकिएको ७ वर्ष बितिसक्दा पनि नहर निर्माणका काम भने करिब ६५ प्रतिशत मात्रै पु¥याएको छ । आयोजना शुरु हुँदा १२ अर्ब ७० करोडको लागतमा नहर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि ६५ प्रतिशत काम पूरा करिब १७ अर्ब खर्च भई सकेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १५:१८