सूचनाको शक्ति - The Power Of Information

        

ठाकुरबाबाका युवा माछापालनले आत्मनिर्भर

बर्दिया । ठाकुरबाबा नगरपालिका–५ बनबिरपुरका नवराज रिजाल दिनहुँ आफ्नै पोखरीका माछा निकाल्ल व्यस्त हुन्छन् । पोखरीबाट माछा निकाल्ने, बेच्ने काममै उनको बिहान बित्छ । लामो समय बेरोजगार भएर बसेका नवराज अहिले ठाकुरबाबा नगरपालिका क्षेत्रकै सफल माछापालक किसान भएका छन् ।

‘लामो बेरोजगार भएर त्यतिकै घरमा समय बिताएँ । थोरै भए पनि आफ्नै श्रम र पुँजीले केही गर्छु भन्ने अठोट गरेर माछा पाल्न थालें,’ उनले भने, ‘अहिले साझेदारीमा ठूलो परिमाणमा माछापालन गरेर आत्मनिर्भर भएको छु ।’ लामो समयदेखि माछापालन गर्दै आएका ठाकुरबाबा–५ बनबिरपुरका राजेन्द्र शर्मासँग नवराजको साझेदारी छ ।

शर्मा पनि जिल्लाकै सफल माछापालक किसानका रुपमा चिनिन्छन् । उनीहरुले साझेदारीमै करिब चार हेक्टर जमिन भाडामा लिएर माछापालन गरिरहेका छन् । नवराज र राजेन्द्रले एक वर्षमा करिब ३०० क्विन्टल (एक क्विन्टलमा १०० किलो) माछा बिक्री गर्दै आएका छन् । उनीहरुले माछाका भुरा पनि बिक्री गर्ने गरेको नवराज बताउँछन् ।

माछा र माछाका भुरा बिक्रीबाट सबै खर्च कटाएर वार्षिक १५ देखि २० लाख रुपैयाँ फाइदा हुने गरेको उनको भनाइ छ । गोविन्दपुर गाउँका युवा वीरबहादुर थारु कुष्माले पनि माछापालन व्यवसाय गरेका छन् । वीरबहादुरले माछापालन गरेरै वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

बजारको छैन समस्या

उनीहरुको फार्ममा रहु, सिल्भर, कमन, पंगासियस, ग्रास, भाकुर जातका माछा छ । माछाका लागि बजारको पनि खासै समस्या नभएको उनीहरुको भनाइ छ । ‘बजारको खासै समस्या छैन,’ नवराजले भने, ‘माछा व्यापारीहरु पोखरीमै आएर माछा लैजान्छन् । कहिलेकाहीँ माग पुर्याउनै गाह्रो हुन्छ ।’

नवराज र राजेन्द्रले उत्पादन गरेको माछा बर्दियासँगै बाँके र कैलालीमा समेत निर्यात हुने गरेको छ । तर, अवैध ढंगबाट भारतका माछा बजारमा आउँदा कहिले काहीँ समस्या हुने गरेको माछा पालकहरुको गुनासो छ । उनीहरुले माछापालक किसानका लागि स्थानीय सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १५:१३