बाँके । बाँकेको बैजनाथ गाउँपालिका–५ मा रहेको नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा गरिएको वन फँडानीविरुद्ध डिभिजन वन कार्यालय बाँकेले कारबाही प्रक्रिया थालेको छ । वन फँडानी सम्बन्धी समाचार सार्वजनिक भएपछि वन कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
डिभिजन वन कार्यालय बाँकेका राजु क्षेत्रीले वन फँडानी भएको स्थलमा पुगेर कर्मचारीलाई मुचुल्का उठाउन लगाइसकेको बताए । ‘हाम्रा कर्मचारी घटनास्थलमा पुगी मुचुल्का उठाएर पनि सम्बन्धित वन उपभोक्ता समुहलाई पत्र काटिसकेको अवस्था छ,’ उनले भने ‘हामीले कारबाही प्रक्रिया अगाडि बढाइसकेका छौं ।’
आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सामुदायिक वन क्षेत्रका रुख, विरुवा काटिएको ठहर भएमा वन समूहलाई कारबाही हुने डिभिजन वन कार्यालय बाँकेका प्रमुख क्षेत्रीले बताए । वन समूहले डिभिजन वनबाट अनुमति नै नलिएर केही समयअघि करिव एक विघा क्षेत्रफलमा रहेका सिसौं लगायत बहुमुल्य प्रजातिका रुख, विरुवा अवैध रुपले काटेको थियो ।
सामुदायिक वनले फडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिका कार्यालय र शुभ प्रभात बहुमुखी पब्लिक क्याम्पस भवन निर्माण गर्ने तयारी छ । कोरोना भाइरस महामारीको मौका छोपेर अवैध रुपमा काटिएका ठूलो परिमाणका रुख, विरुवालाई समूहले ब्यवस्थापन गरिसकेको जनाएको छ ।
वन समूहले भेलामार्फत गाउँपालिका कार्यालय र क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ विघा क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरेपनि दशकौंदेखी हुर्कदै, बढ्दै आएका रुख, विरुवा काट्ने विषयमा डिभिजन वन कार्यालयसँग स्वीकृती नलिएका कारण अख्तियारको चरम दुरुपयोग समेत गरी आर्थिक अनियमितता गरेको स्रोतको दाबी छ ।
समूहले गरेको वन फँडानीको घटनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छुट्टै अनुसन्धान थाल्नुपर्नेे माग उठेको छ । कोहलपुर सवडिभिजन कार्यालयका प्रमुख एवम् सहायक वन अधिकृत रामकुमार चौधरीले वन फँडानी भएको ठाउँमा आफुहरु पुगी मुचुल्का उठाएर पनि वन समुहलाई स्पष्टीकरणसहितको एउटा पत्र दिइसकेको बताए ।
‘घटनास्थलमा पुगेर हामीले रुखका ठुटाको साइज नाप्यौं, कसरी र किन रुखहरु काटियो ? भनेर वन समूहलाई सोधेका छौं,’ उनले भने ‘समूहको जवाफ आएपछि कानुनी कारबाही प्रक्रिया अगाडि बढाउनेछौं ।’ डिभिजन वन कार्यालयको स्वीकृती विना कसैलाई पनि रुख, विरुवा काट्ने अधिकार नभएको सहायक वन अधिकृत चौधरीले बताए ।
सामुदायिक वन क्षेत्र नजिकै खुल्ला चउर तथा जग्गा पर्याप्त मात्रामा भए पनि वन समूहले घना जंगलभित्र गाउँपालिका र क्याम्पस भवन बनाउन जग्गा दिनुले पनि त्यहाँ आर्थिक अनियमितता भएको संकेत देखिएको वन कर्मचारी बताउँछन् । वन समूहले काटेका रुखलाई तत्कालै ‘ब्यवस्थापन’ गरिए पनि रुखका टुठा भने अहिले ताजै छन् । रुख काटिएको स्थान अहिले उजाड बनेको छ ।
यो पनि पढ्नुहोस् : स्वीकृति नै नलिएर बैजनाथमा अवैध वन फँडानी
घटनास्थलको वरिपरी भने अझै बाक्लो जंगल रहेको छ । गाउँपालिकाले उक्त क्षेत्रलाई आफ्नो लगानीमा तारबार गरेको थियो । गाउँपालिकाले तारबार गरेको ११ विघा क्षेत्रमा अझै थुप्रै रुख, विरुवा छन् । बचेका रुख, विरुवालाई पनि वन समुहले क्रमशः काट्ने योजना रहेको बताइएको छ । वन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर थापा भने गाउँपालिका र क्याम्पसले भवन बनाउने ठाउँ मागेपछि सामुदायिक वन क्षेत्रलाई दिइएको बताउँदै आएका छन् ।
समूहको भेलाबाट त्यस स्थानमा गाउँपालिका र क्याम्पस बनाउन दिने निर्णय भएपनि रुख काट्दा डिभिजन वन कार्यालयसँग स्वीकृती नलिएको उनले स्वीकार गरेका छन् । उनका अनुसार कुल ५२.६३ हेक्टर क्षेत्रफल मध्ये करिव ५ हेक्टर क्षेत्र गाउँपालिका र क्याम्पस निर्माणको लागि छुट्याइएको छ ।
प्रमाण नष्ट गर्न सामुदायिक वन क्षेत्रमा प्रयोग गरिएको एक्साभेटर ।
प्रमाण नष्ट गर्न रुखका ठुटा गायव
नवदुर्गा भगवती सामुदायिक वन क्षेत्रमा भएको अवैध फँडानीको प्रमाण नष्ट गर्ने प्रयास गरिएको छ । उक्त समूहले डिभिजन वन कार्यालय बाँकेको स्वीकृती बिना करिव एक विघा क्षेत्रफलमा हुर्किरहेका रुख, विरुवा अवैधरुपले कटान गरेको थियो । वन फँडानीविरुद्ध डिभिजन वन कार्यालयले कारबाही प्रक्रिया चलाइरहेका बेला समूहले त्यस क्षेत्रमा एक्साभेटर लगेर रुखका ठुटा हटाएको छ ।
‘एक्साभेटरबाट रुखका केही ठुटा उखेलेर फालिएको छ,’ एक स्थानीयले भने ‘डिभिजन वन कार्यालयले कारबाही प्रक्रिया अगाडी बढाएपछि प्रमाण नष्ट गर्न खोजिएको छ ।’ वन फँडानी सम्बन्धी समाचार सार्वजनिक भएपछि समूहमाथि कारबाही प्रक्रिया अगाडि बढाइसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।
‘अबैध रुख कटान भएको जानकारी पाउने बित्तिकै हाम्रा कर्मचारी पुगेर त्यहाँको फोटो खिचेर मुचुल्का उठाइसकेका छन्,’ उनले भने ‘अहिले रुखको ठुटा हटाउँदैमा प्रमाण नष्ट हुँदैन, हामीसँग सबै प्रमाण सुरक्षित छ ।’ कार्यालयका प्रमुख राजु क्षेत्रीले कानुनी कारबाही प्रक्रिया अगाडि बढिसकेको जानकारी दिदै कर्मचारीले पहिल्यै फोटो खिचेर ल्याइसकेको हुँदा ठुटा हटाउँदैमा केही फरक नपर्ने बताए ।
वन समूहका कागजात मागेर अध्ययन गर्ने काम भइरहेको र चाडै कारबाही प्रक्रियालाई निचोडमा पुर्याइने डिभिजन वन प्रमुख क्षेत्रीले सुनाए । कार्यालयले वन फँडानी सम्बन्धी आवश्यक अनुसन्धान गर्न कोहलपुर सव–डिभिजन वन कार्यालयका प्रमुख एवम् सहायक वन अधिकृत रामकुमार चौधरीलाई जिम्मा दिएको छ । कार्यालयले घटनास्थलको मुचुल्का उठाएर पनि समूहलाई पत्र काटिसकेको छ ।
आफूहरु मुचुल्का उठाएर आइसकेपछि कटान गरिएका रुखका ठुटा एक्साभेटर चलाएर हटाएको भन्ने सूचना आफूलाई पनि प्राप्त भएको भन्दै सहायक वन अधिकृत चौधरीले कार्यालयसँग सबै प्रमाण सुरक्षित रहेको बताए । सामुदायिक वनले बहुमुल्य प्रजातिका थुपै्र रुख, विरुवा अवैधरुपले फडानी गरेको उक्त क्षेत्रमा बैजनाथ गाउँपालिका कार्यालय र शुभप्रभात बहुमुखी पब्लिक क्याम्पस भवन निर्माण गर्ने तयारी छ ।
वन समूहले भेलामार्फत गाउँपालिका कार्यालय र क्याम्पस निर्माणका लागि सामुदायिक वनको ११ बिघा क्षेत्रफल उपभोग गर्न दिने निर्णय गरे पनि दशकौंदेखि हुर्कदै, बढ्दै आएका रुख, विरुवा काट्ने विषयमा डिभिजन वन कार्यालयसँग स्वीकृती नलिएका कारण अख्तियारको चरम दुरुपयोग समेत गरी आर्थिक अनियमितता गरेको संरक्षणकर्मी बताउँछन् ।
कोरोना भाइरस महामारीको मौका छोपेर अवैधरुपमा काटिएका ठूलो परिमाणका रुख, विरुवालाई ब्यवस्थापन गरिसकेको उपभोक्ता समूहले जनाएको छ । वन फँडानीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छुट्टै अनुसन्धान थाल्नुपर्नेे माग गरिरहेका छन् । वन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर थापाले भने कटान गरिएका रुखका ठुटा हटाउँदै गर्दा वन कार्यालयले रोकेको बताएका छन् ।
‘एक्साभेटर आएर रुखका ठुटा हटाउँदै थियो, वन कार्यालयले थाहा पाएपछि आएर रोकिदियो,’ उनले भने । वन कार्यालयले समुहलाई पत्र लेखेर कस्ले रुख काटेको हो ? भनेर स्पष्टिकरण सोधेको जानकारी दिँदै अध्यक्ष थापाले भने, ‘यो काम सबै गाउँपालिकाको हो, गाउँपालिकाको कार्यालय भवन बनाउनकै लागि रुख काटिएको हो भनेर जवाफ दिएका छौं ।’ रुख काटेको पारिश्रमिक ठेकेदारले उपलब्ध गराए पनि काठ उपभोक्तालाई वितरण नगरेको उनले सुनाए ।
सत्यपाटी ।