सूचनाको शक्ति - The Power Of Information

        

डाक्टर थापा र श्रेष्ठलाई ‘प्रवल जनसेवा श्री पदक’

बाँके । कोरोना महामारीका बेला फ्रण्टलाइनमा खटिएका बाँकेका दुई जना स्वास्थ्यकर्मीलाई प्रवल जनसेवा श्री पदक प्रदान गरिने भएको छ । विभूषित व्यक्तिहरुलाई राष्ट्रपति भण्डारीले नयाँ बर्ष २०७८ बैशाख १ गते तक्मा प्रदान गर्नु हुनेछ ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाशबहादुर थापा र स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवं कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठलाई प्रवल जनसेवा श्री पदक प्रदान गर्न लागिएको हो ।

संविधान दिवसका अवसरमा सरकारले बाँकेका दुईजना स्वास्थ्यकर्मीलाई पदक प्रदान गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेहरुको नाम घोषणा गर्दा बाँकेका डा.थापा र स्वास्थ्यका श्रेष्ठ पनि परेका छन् ।

बाँकेमा कोरोना महामारी रोकथाम, नियन्त्रण र निदानमा डा.थापा र जनस्वास्थ्य अधिकृत श्रेष्ठले प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् । उनीहरुकै कमाण्डमा अहिले जिल्लामा भाइरस नियन्त्रणका लागि कामहरु भइरहेका छन् । उनीहरु अहरोत्रा खटिएर काम गर्दै आएका छन् । उनीलाई राष्ट्रपति भण्डारीले २०७८ बैशाख १ गते विभूषित गर्नेछिन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार ०९:४८