सूचनाको शक्ति - The Power Of Information

        

आज पाँचौं संविधान दिवस, देशभर मनाइँदै

काठमाडौं । संविधान दिवस शनिबार मनाईँदैछ । २०७२ को असोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

पहिलो संविधानसभा संविधान बनाउन असफल भएपछि दोस्रो संविधानसभाले संविधान बनाई जारी गरेको हो । नयाँ संविधान कार्यान्वयमा आएको पाँच वर्ष पूरा भएको छ । संविधानले देशलाई संघीय व्यवस्थामा लगेको हो र अझै पनि संघीयताले सक्रियरुपमा काम गर्न सकेको अवस्था भने छैन ।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण संविधान दिवसका अवसरमा सार्वजनिक कार्यक्रम हुने छैनन् । यसैबिच राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने महान दायित्व काँधमा आएको बताएका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।

संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नातर्फबाट इमान्दार प्रयास जारी राख्न राष्ट्रपतिले सबैलाई आह्वान गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहनाका साथ त्यसमा चाँडो सफलता मिल्ने अपेक्षा गरेकी छन् ।

संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हाँसिल गर्न पनि राष्ट्रपतिले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ अवसरमा शुभकामना व्यक्त गरेकी हुन् । राष्ट्रपतिले संविधान दिवसको अवसरमा गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन गुमाउने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका आन्दोलनको पथप्रदर्शन गर्ने अग्रजप्रति सम्मान एवम् श्रद्धासमेत व्यक्त गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले जननिर्वाचित संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम यथाशक्य चाँडो पूरा हुने विश्वास व्यक्त गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा शुभकामना दिँदै उनले संविधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहे पनि यसको पूर्ण कार्यान्वयन गर्न आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार ०८:३०