सूचनाको शक्ति - The Power Of Information

        

विकास

जनकपुर आइपुग्यो ‘नेपाली रेल’

जनकपुर । सरकारले जनकपुर–जयनगर रूटमा सञ्चालन गर्न भारतसँग किनेको रेल जनकपुर आइपुगेको छ । शुक्रबार दिउँसो उक्त रेल जनकपुर आइपुगेको हो । नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट किनेको थियो । गत वर्ष नै खरिद प्रक्रिया अघि बढाइएको रेल कम्पनीले तयार पारेको थियो ।

नेपालमा पहिलो पटक बेलायत सरकारले रक्सौल–अमलेखगन्ज रेलसेवा १९८४ मा सञ्चालनमा ल्याएको थियो । त्यो रेलसेवा शूरु भएको ३८ वर्षपछि २०२२ मा बन्द भएको थियो । उक्त रेलसेवाले तराई मधेसका मानिसलाई मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्त पुर्याएको थियो । पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे । त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे ।

विक्रम संवद १९९४ मा जयनगर–जनकपुर–बिजलपुरा रेलसेवा सुरु भएको बताइएको छ । करिब ५२ किलोमिटरको यो रेलसेवा सुरुमा कोइलाबाट चल्थ्यो । पछि डिजेल इन्जिन सुरु भयो । यो बेला रेलसेवा मानिस ओहोरदोहोर गर्नेभन्दा पनि मालसामान ओरापसार गर्न सुरुवात भएको थियो । पछि त्यसमा मानिस बस्ने बोगी थपियो ।

जनकपुरधामको स्टेशनमा भिड

आज विहानैदेखि जनकपुरको रेल्वे स्टेशन भरिभराउ थियो । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट थियो । कोही बिहानैदेखि बसिरहेका थिए भने अरु मान्छे आउने क्रम पनि रोकिएन । यहाँ कुनै भेला, आमसभा अथवा मेलाको दृश्य भने होइन । भारतबाट आएको रेल हेर्न नागरिकहरु विहानैदेखि जनकपुरधामको रेल्वे स्टेशनमा जम्मा भएका थिए ।

कोही आफ्नो बालबालिकालाई समेत लिएर रेल हेर्न आइपुगका थिए । कोही आफ्ना वृद्ध आमाबुवालाई साथमा लिएर रेल देखाउन आएका थिए । शुक्रबार दिउँसोसम्म आइपुग्ने रेल हेर्नेहरुको भिडले महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड–१९)लाई भने बिर्साइदिएको छ । यही भिडमा रहेका जनकपुर उपमहानगरपालिका–१ निवासी संजय यादव बिहान ६ बजेदेखि नै रेल्वे स्टेशनमा बसिरहेका थिए ।

रेललाई नहेरिकन खाना नखाने बताएका ५५ वर्षका सञ्जयले सम्झिँदै भने, ‘रेल आयो अब खाना खान जान्छु । पहिला भारततिर रेल हेरेका थियौं, एकताका यहीका रेल पनि चढेका थियौं । अब आउन लागेको रेल कस्तो छ भन्ने हेर्ने ठूलो धोको छ ।’ पहिला ३५ रुपैयाँ तिरेर जनकपुरबाट जयनगरसम्म गएको स्मरण गर्दै उनले रेल सेवा बन्द भएपछि त्यहाँसम्म पुग्न ३ सय रुपैयाँसम्म खर्च गर्नुपरिरहेको बताए ।

यद्यपि अब त्यो झन्झट व्यहोर्न नपर्ने उनको विश्वास छ । जनकपुरकै युवा विजयकुमार मेस्तर पनि रेलको प्रतिक्षामा छन् । ‘धेरै उत्सुक छु रेल हेर्नका लागि,’ मेस्तरले भने, ‘आज रेल आउन लाग्दा असाध्यै खुशी छु ।’ स्टेशनमा भिड बढ्दै गएपछि नेपाल तथा सशस्त्र प्रहरीको टोली पनि तैनाथ गरिएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार बिहारको हाजिपुर स्टेशनमा पछिल्लो एक महिना यता पार्किङमा राखिएको एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल नेपाल आइपुगेका हुन् ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १४:३१