सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

भेरीमा पीसीआर किट अभावले परीक्षण प्रभावित, आज ६० जना डिस्चार्ज

बाँके । भेरी अस्पतालमा पीसीआर किटको अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको छ । पीसीआर किट अभावका कारण यतिबेला भेरी अस्पाताल नेपालगन्जको प्रयोगशालामा कोरोना परीक्षण बन्दजस्तै भएको छ ।

पछिल्लो ६ दिनदेखि कोरोना परीक्षणमा प्रयोग हुने पीसीआर किट अभाव रहेको भेरी अस्पताल नेपालगन्जले जनाएको छ । पीसीआर अभावका कारण परीक्षण बन्दजस्तै छ । जेनतेन जोहो गरेर आपतकालिन अवस्था र लक्षण देखिएका ब्यक्तिको मात्र परीक्षण गर्न बाध्य भएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले जानकारी दिए ।

उनले भने, ‘पीसीआर किट अभाव भएपछि केन्द्रमा माग गरेका छौं । केन्द्रबाट पीसीआर भेरीमा आइपुग्न अझै हप्तादिन लाग्ने खबर पाएका छौं ।’ उनले पीसीआर किट अभावमा कोरोना जाँचका लागि संकलित स्वाब परीक्षणका लागि तयारी अवस्थामा राखिएको बताए । यसअघि प्रयोगशालामा रिएजेन्ट अभावका कारण संकलित स्याम्पल परीक्षणमा ढिलाइ भएको थियो ।

आज ६० जना डिस्चार्ज

बाँकेमा कोरोना भाइरसको सङ्ख्या बढ्दै गइरहेको बेलामा कोरोना संक्रमण जित्नेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको छ । आज शुक्रबार मात्रै ६० जना कोरोनालाई जितेर घर फर्कदै छन् । योसँगै बाँकेमा १ हजार १९२ जनाले कोरोना भाइरसलाई जितेका छन् । शुक्रबार बाँकेका ६० जना कोरोना संक्रमितलाई डिस्चार्ज गर्न लागिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हालसम्म बाँकेमा १ हजार ५४६ जना कोरोना संक्रमित भएका छन् । बाँकेका विभिन्न आईसोलेशनमा राखिएको १४ दिनपछि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उनीहरूलाई डिस्चार्ज गर्न लागिएको श्रेष्ठले जानकारी दिएका छन् ।

अब विभिन्न आइसोलेसनमा ३४५ जना उपचारार्थ रहेका छन् भने हालसम्म बाँकेमा ९ जनाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार नेपालगन्ज उपमहानगरपालिका–१ का ४५ वर्षिय पुरुषको मृत्यु भएको छ । भेरी अस्पताल नेपलागन्जको आइसोलेसनमा उपचाररत ती पुरुषको बिहीबार बेलुकी सवा ५ बजे मृत्यु भएको हो ।

योसहित बाँकेमा मृत्युपछि कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ पुगेको छ भने नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ६ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि भदौ २९ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका उनको ३० गते कोरोना परीक्षणका लागि स्वाब लिइएको र भदौ ३१ गते पोजेटिभ रिपोर्ट आएको थियो ।

हालसम्म बाँकेको मृत्युपछि कोरोना पुष्टि हुनेमा नेपालगन्जमा ४ पुरुष २ महिला, कोहलपुर नगरपालिकामा १ महिला, बैजनाथ गाउँपालिकामा १ महिला र नरैनापुर गाउँपालिकामा १ पुरुष गरि ९ जना रहेका छन् । जसमध्ये नरैनापुरका पुरुष बाँकेमै मृत्युपछि कोरोना संक्रमण पुष्टि हुने पहिलो ब्यक्ति हुन् ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार ०८:३४