सूचनाको शक्ति - The Power Of Information

        

अपराध

अवैध रकम तिर्दै नेपाली मजदुर भारततिर

बाँके । कोरोना महामारी फैलिएसँगै केही समयअघि सीमा नाका जमुनाहामा भारतबाट फर्किने नेपाली कामदारहरुको थामिनसक्नुको भीड हुन्थ्यो । भारतमा मजदुरी गर्दै आएका नेपालीहरु कोरोना कहरबाट बच्न नेपाल फर्किए । कोरोना संक्रमणपछि लागु गरिएको लकडाउनसँगै सरकारले करिब सात महिनादेखि सीमा नाका सिल गरेको छ ।

अहिले नेपालबाट भारत जानका लागि भारत सरकारले जारी गरेको आधार कार्ड र भारतीय रोजगारदाताले काममा आउनू भनेर पठाएको सूचीमा अनिवार्य नाम हुनुपर्छ । तर, भारतसँग जोडिएका बाँकेका छोटी नाका र चोर नाकाहरु प्रयोग गरी दलालहरुले नेपाली कामदारबाट मोटो रकम असुलेर अवैधरुपमा लुकीछिपी भारत पठाउने गरेको रहस्य खुलेको छ ।

अवैध बाटो भएर भारततर्फ लुकीछिपी जाँदै गरेका ५४ जना नेपाली मजदुरहरुलाई बाँके प्रहरीले सीमा नाकाबाट बुधबार उद्धार गरेसँगै दलालहरुले नेपाली कामदारबाट मोटो रकम असुलेर अवैधरुपमा लुकीछिपी भारत पठाउने गरेको रहस्य खुलेको हो । बुधबार मध्यरातमा खडैचा नाका हुँदै भारततर्फ जाँदै गरेका उनीहरुको उद्धार गरेको थियो ।

रुकुम, जाजरकोट बर्दिया, बाँके र दैलेखका मजदुरहरु नेपालगन्जमा जम्मा भई नरैनापुरको पूर्वी क्षेत्रबाट नेपाली मजदुरसँग जनही ६ हजार देखि १० हजारसम्म रकम लिएर भारतको सिमलासम्म पुराउने गिरोहका दुई जनालाई पनि बाँके प्रहरीले नियन्त्रणमा लिएपछि अवैधरुपमा लुकीछिपी भारत पठाउने गरेको रहस्य खुलेको हो ।

पक्राउ पर्नेमा भारतमा गाडी चलाउने अमर गन्धर्व र नेपालगन्जका शेराज अहमद राई रहेका छन् । दुवैलाई हिरासतमा राखेर प्रहरीले छानबिन थालेको छ । कोरोना कहरका बेला भारतबाट घर फर्किएका नेपालीहरु अहिले भारतीय आधार कार्ड र भारतीय रोजगारदाताले काममा आउनू भनेर पठाएको सूचीमा भएपछि मात्रै भारततिर जान पाउँछन् ।

नेपालगन्ज रुपैडिहा नाका हुँदै भारत जान भारत सरकारले जारी गरेको आधार कार्ड र भारतको रोजगारदाताले काममा आउनू भनेर पठाएको सूचीमा नाम भएका मात्रै त्यसरी सीमा पार गर्न सक्छन् । तर त्यस्तो कुनै व्यवस्था नभएका नेपाली कामदारबाट मोटो रकम असुलेर विभिन्न गिरोहले अवैध रुपमा लुकीछिपी भारत पठाउने गरिरहेका छन् ।

भारतमा कामदारको माग बढेपछि त्यहाँका मालिकहरु कोरोना कहरका बेला पनि नेपाली कामदार लिन सीमामै आउने गरेका छन् । कोरोना कहरले गर्दा नाकामा नेपाली नागरिकता भएकालाई नेपाल आउन र भारतीय आधार कार्ड भएकालाई भारत जान दिन थालेपछि ५ नम्बर प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिस भारतीय आधार कार्ड देखाउँदै भारततिर जाने गरेका छन् ।

नेपालगन्ज नाकाबाट यतिबेला दैनिक दुई सयको हाराहारीमा नेपालीहरु भारत प्रवेश गरिरहेका छन् । कोरोनाको त्रास सुरु भएसँगै घर फर्किएका उनीहरु भारत गइरहेका हुन् । नाकामा भारत जाने नेपालीको घुँइचो देख्न सकिन्छ । आफ्नै उत्पादनले वर्षभरि खाना नपुग्ने नेपालीहरु मौसमी कामका लागि भारत जाने नौलो कुरा होइन, उनीहरु जाने–आउने गरिरहेको देखिन्छ ।

आधार कार्ड देखाएर जानुपर्ने बाध्यता सिर्जना भएपछि पहाडी जिल्लाका नेपालीहरुसँग पनि भारतीय आधार कार्ड रहेको देखिन्छ । भारत उत्तराखण्डका विभिन्न ठाउँमा मजदुरी गर्ने नेपालीहरु कोरोनाको त्रास कम हुँदै गर्दा रोजगारीमा फर्किन थालेका छन् । नेपाली कामदार घर बस्दा कामदारको चरम अभाव भएपछि उत्तराखण्डका विभिन्न जिल्लाका भारतीय मालिकहरु रुपैडिहासम्म नेपालीलाई लिन आउँछन् ।

कतिपयले नेपालीलाई लिन पास बनाएर आएका छन् । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले पहाडी जिल्लाका धेरै नेपालीहरु आधार कार्ड देखाउँदै भारत जाने गरेको बताए । ‘हामीले नागरिकता भएकालाई नेपाल आउन र आधार कार्ड भएकालाई भारत जान दिएका छौँ, इन्चार्ज गिरीले भने, मौसमी कामका लागि जाने नेपालीहरु आधार कार्ड देखाउँदै भारत गइरहेका छन् ।’

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १७:०४