सूचनाको शक्ति - The Power Of Information

        

यातायात व्यवसायी

यातायात सञ्चालन गर्ने निर्णयपछि नेपालगन्ज बसपार्कमा चहलपहल

बाँके । सरकारले असोज १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेपछि बाँकेका यातायात व्यवसायी खुसी भएका छन् । झण्डै ६ महिनापछि लामो दूरीका यातायात सञ्चालन गर्न पाउने भएपछि खुसी भएका यातायात व्यवसायीहरू गाडी मर्मत, सम्भारमा जुटेका छन् ।

लामो दूरीका यातायात सञ्चालनमा आउने भएपछि नेपालगन्ज बसपार्कमा चहलपहल बढेको छ । असोज १ गते नै विश्वकर्मा पूजा र सोही दिनदेखि लामो दूरीका यातायात सञ्चालन गर्न पाउने भएपछि नेपालगन्ज बसपार्कमा यातायात ब्यवसायीहरु गाडी मर्मतमा जुटेका छन् । विश्वकर्मा पूजाका कारण आज यातायात समितिले क्वी फ्रि दिएकोले अधिकांश बस धनीले भोलि २ असोजदेखि बस सञ्चालन गर्ने बताए ।

आज गाडीको मर्मत, सम्भार र विश्वकर्माको पूजा गरि भोलीदेखि नियमितरुपमा बस चलाउँछौँ,’ नेपालगन्ज–जुम्ला सडक खण्डमा सञ्चालन हुने बस धनी मदन विष्टले भने । लामो दूरीका यातायात सञ्चालनमा आउने भएपछि धेरै राहत मिलेको अर्का बस धनी महेन्द्र विकले बताए । उनले अव खान पाउने आशा जागेको बताए । लामो समयसम्म बस सञ्चालन नहुँदा उधारो गरि खाएको बताउँदै उनले अव केहि आशा पलाएको बताए ।

नेपालगन्ज–काँकडभिट्टा रुटमा चल्ने बसका सहचालक विशाल थापाले पनि लामो दूरीको बस सञ्चालन गर्न दिने सरकारको निर्णयले राहत मिलेको बताए । उनले लामो समयदेखि बेरोजगार भएको बताए । बेरोजगार भएर भोको बस्नु हो कि भन्ने थियो । अब भात खान पाइन्छ कि भन्ने भएको छ,’ उनले भने । नेपालगन्ज बसपार्क व्वस्थापन समितिले आ–आफ्नो सवारीसाधन आ–आफ्नो रुटमा लगाउन निर्देशन दिइसकेको छ ।

भोलीदेखि नम्बरमा बस सञ्चालन हुने भएको भेरी यातायात बस व्यवसायी समितिका अध्यक्ष डेकनाथ गौतमले बताए । आज पहिलो दिन हो । आजै विश्वकर्मा पूजा परेकोले भोलि असोज २ गतेबाट नियमितरुपमा सञ्चालन गर्ने भएका छौँ,’ अध्यक्ष गौतमले भने, ‘लामो समय नचलेर थन्किएका लामो तथा मध्यम दूरीमा चल्ने गाडीहरु मर्मत सम्भारपछि भोलीदेखि नियमितरुपमा फेरि गुड्न थाल्नेछन् ।’

यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै सरकारले सबै चालक, सहचालक र यात्रुलाई सवारी साधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ । चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्यरुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारी साधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनेको छ । यी सवारी साधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १६:३९