सूचनाको शक्ति - The Power Of Information

        

सीमामै आएर नेपाली कामदार लैजाँदै भारतीय मालिक

बाँके । भारतमा कामदारको माग बढेपछि त्यहाँका मालिकहरु कोरोना कहरका बेला पनि नेपाली कामदार लिन सीमामै आउने गरेका छन् । कोरोना कहरका बेला भारतबाट घर फर्किएका नेपालीहरु अहिले भारतीय आधार कार्ड देखाउँदै भारततिर जाने गरेका छन् ।

कोरोना कहरले गर्दा नाकामा नेपाली नागरिकता भएकालाई नेपाल आउन र भारतीय आधार कार्ड भएकालाई भारत जान दिन थालेपछि ५ नम्बर प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिस भारतीय आधार कार्ड देखाउँदै भारततिर जाने गरेका छन् ।

नेपालगन्ज नाकाबाट यतिबेला दैनिक दुई सयको हाराहारीमा नेपालीहरु भारत प्रवेश गरिरहेका छन् । कोरोनाको त्रास सुरु भएसँगै घर फर्किएका उनीहरु भारत गइरहेका हुन् । नाकामा भारत जाने नेपालीको घुँइचो देख्न सकिन्छ । आफ्नै उत्पादनले वर्षभरि खाना नपुग्ने नेपालीहरु मौसमी कामका लागि भारत जाने नौलो कुरा होइन, उनीहरु जाने–आउने गरिरहेको देखिन्छ ।

आधार कार्ड देखाएर जानुपर्ने बाध्यता सिर्जना भएपछि पहाडी जिल्लाका नेपालीहरुसँग पनि भारतीय आधार कार्ड रहेको देखिन्छ । भारत उत्तराखण्डका विभिन्न ठाउँमा मजदुरी गर्ने नेपालीहरु कोरोनाको त्रास कम हुँदै गर्दा रोजगारीमा फर्किन थालेका छन् । नेपाली कामदार घर बस्दा कामदारको चरम अभाव भएपछि उत्तराखण्डका विभिन्न जिल्लाका भारतीय मालिकहरु रुपैडिहासम्म नेपालीलाई लिन आउँछन् ।

कतिपयले नेपालीलाई लिन पास बनाएर आएका छन् । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले पहाडी जिल्लाका धेरै नेपालीहरु आधार कार्ड देखाउँदै भारत जाने गरेको बताए । ‘हामीले नागरिकता भएकालाई नेपाल आउन र आधार कार्ड भएकालाई भारत जान दिएका छौँ, इन्चार्ज गिरीले भने, मौसमी कामका लागि जाने नेपालीहरु आधार कार्ड देखाउँदै भारत गइरहेका छन् ।’

कानूनतः एकै व्यक्तिले नागरिकता र आधार कार्ड लिन पाईँदैन । अधिवक्ता लोकबहादुर शाह भन्छन्, ‘एकै व्यक्तिले नागरिकता र आधार कार्ड लिनु कानूनतः गलत हो । कतिपय नेपालीले लिइरहेको देखिन्छ ।’ भारतको सर्वोच्च अदालतले भने आधार कार्ड र नागरिकता समान नरहेको भन्ने सन्देश जाने गरी फैसला गरेको थियो । विभिन्न सुविधा पाउने भएकाले नेपालीहरुले आधार कार्ड बनाएको पाइएको छ । नेपालमा नागरिकता भनेझै भारतमा आधार कार्ड हुनेले राज्यका सबै सुविधा उपभोग गर्न पाउँछन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १२:०५