सूचनाको शक्ति - The Power Of Information

        

एक लाखको कोरोना बीमा, पाउने २५ हजार मात्रै !

काठमाडौं । एक लाखको कोरोना बीमा गर्नेले अब जम्मा २५ हजार रुपैयाँ पाउने भएको छ । बीमा समितिले आइतबार कोरोना बीमा निर्देशिका संशोधन गर्दै होम आइसोलेसनमा बस्ने संक्रमितलाई २५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गर्ने नियम बनाएको हो ।

त्यस्तै, अस्पताल भर्ना भएर उपचार गर्नेले अधिकतम् ७५ प्रतिशतसम्म मात्रै खर्च दिने व्यवस्था गरेको छ । अब कुनै बिरामी अस्पताल भर्ना भएर उपचार गर्दा २० हजार खर्च भयो त्यति मात्रै दाबी भुक्तानी गर्नेछ । ५० हजारको बीमा गर्नेले अधिकतम साढे ३७ हजार र १ लाखको बीमा गर्नेले ७५ हजार रुपैयाँ मात्रै प्राप्त गर्नेछन् ।

यसअघि कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै जतिको बीमा गरेको हो, त्यति नै रकम संक्रमित वा परिवारलाई दिने व्यवस्था थियो । गत वैशाख पहिलो सातादेखि सञ्चालन गरिएको कोरोना बीमा योजनामा बीमित संक्रमित हुने बित्तिकै नगद प्रदान गर्ने व्यवस्था थियो । तर, पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि समितिले आइतबार कोरोना बीमा मापदण्ड संशोधन गर्दै राहत रकम र अस्पताल भर्ना खर्च मात्रै भुक्तानी गर्ने व्यवस्था गरेको हो ।

तर, नयाँ व्यवस्थाअनुसार संक्रमितले दाबी भुक्तानी पाउने प्रक्रियालाई झनै जटिल बनाइएको छ । होम आइसोलेसनमा बसेका संक्रमितले राहत रकमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखका साथै स्थानीय निकायको सिफारिस समेत पेस गर्नुपर्नेछ । त्यस्तै, अस्पतालमै उपचाररत संक्रमित बीमितले भर्ना तथा डिस्चार्ज भौचर पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १६:५७