सूचनाको शक्ति - The Power Of Information

        

डा. केसीको १९औँ सत्याग्रह जुम्लाबाट सुरु

काठमाडौं ।  चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसीले आफ्नो १९औँ अनशन जुम्लाबाट सुरु गरेका छन् । उनको जुम्लाको चन्दननाथ- ६ रानीचौरमा रहेको बाबिरा मन्दिरमा १९औँ अनशन सुरु भएको छ ।

नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र तानाशाहीतन्त्रविरुद्ध जुम्लामा १९औँ सत्याग्रह सुरु गरेको डा. केसीले प्रतिक्रिया दिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने उनको माग छ ।

यस्तै, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् ।

उनले १६औँ सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका वेला गरिएका सम्झौता अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनशन बस्न बाध्य भएको उनले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार १४:५१