सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेत उपत्यका नगरविकासद्वारा लेखिएका दुई प्रतिनिधिमूलक पत्र, सोझै रकम दुरुपयोग

काठमाडौँ । सुर्खेत उपत्यका नगर विकासद्वारा दुई वटा पत्र लेखिएका छन्। ती पत्रमा नगरविकासका सदस्य सचिव टिकाराम ढकालको हस्ताक्षर छ। सदस्य सचिव ढकाल वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत हुन्।

उनले लेखेको २ वटा पत्र नगरविकासको जग्गा भोगचलन (प्रयोग) गर्न पाउने प्रकृतिका छन्। सोही पत्रलाई आधार मानेर लाखौं रकम खर्च गरिएको छ। खर्च गरिएको रकम दुरुपयोग समेत भएको छ। नगरविकासले जग्गा उपलब्ध गराउने प्रक्रिया विपरित ढकालले मनोमानी पत्र लेख्दा रकम दुरुपयोग भएको हो।

जबकी सुर्खेत उपत्यका नगर विकासको वोर्डले हालसम्म पूर्णता पाएको छैन। वोर्डले पूर्णता नपाउँदा नगरविकासको वैठकसमेत बसेको छैन। ढकालले सुर्खेत उपत्यका नगरविकास समितिको संस्थागत मर्यादालाई लत्याएर मिति २०७६ साल फागुन १ गते (चलानी नम्बर ४५) र २०७७ जेठ ९ गते (चलानी नम्बर ७८) पत्र लेखका छन्।

‘कार्यसमितिले गरेका निर्णयको अद्यावधिक गराउने र कार्यान्वयन गर्ने काम सदस्य सचिवको हो। नगर विकासका कानुनी सल्लाहकार उत्तम आचार्यले भने, तर समितिको निर्णय विनै सदस्य सचिवले पत्र लेख्नु राम्रो होइन।

ढकालले लेखेको पत्रलाई आधार मानी डिभिजन वन कार्यालय सुर्खेतबाट १२ लाख ६६ हजार ६ सय ८२ रुपैयाँ र नगरपालिकाको प्रशासनीक भवन निर्माणका लागि ९ लाख ४४ हजार ५ सय १० रुपैयाँ खर्च गरिएको छ। वन कार्यालय सुर्खेतले क्याप्टेन दिनेश स्मृति पार्क निर्माणका लागि उक्त रकम भुक्तानी गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले जनाए।

२०७७ जेठ ९ गते पार्क निर्माण अनुमति थप स्पष्टता सम्बन्धमा ढकालले पत्र लेखेका थिए भने, उनले नै सोही पत्रमा ‘कानुनी आधार खोजेपछि थप निर्णय गर्नुपर्ने देखिएकोले वीरेन्द्रनगर नगरकार्यपालिका र सुर्खेत उपत्यका नगर विकास समितिको बैठकबाट निर्णय नहुँदासम्म पार्क निर्माण प्रक्रिया रोक्का गर्न’ भन्दै २०७७ जेठ २३ गते पत्र लेखेका थिए।

संघ सरकारबाट ३० लाख र प्रदेश सरकारबाट ४० लाख रकम उक्त पार्क निर्माणका लागि विनियोजन गरिएको थियो। रावलले भने, ‘नगरविकासले पार्क निर्माणका लागि अनुमति दिएको पत्रलाई आधार मानी योजना कार्यान्वयनमा ल्याएका थियौं। निर्माणका चरणमा धेरै विवाद भएपछि काम बन्द भयो।

 

उक्त पार्क निर्माणका सम्बन्धमा छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले कागजपत्र लिएको सूचना अधिकारी रावलले जानकारी दिए।

नगरविकासले वन कार्यालयलाईसमेत अन्यौलमा पारेको रावलको भनाई छ। सुरुवातमा पार्क बनाउन जग्गा प्रयोग गर्ने अनुमति पत्रको आधारमा पेश्की रकम भुक्तानी गरियो। रावलले भने, ‘विवाद भएपछि नगरविकासले नै काम रोक्न पत्र लेख्यो। जसको कारण अन्यौल सिर्जना मात्रै भएन खर्च गरिएको रकम समेत काम लागेन।

त्यस्तै, नगरपालिकाले भवन निर्माणका लागि गरेको डिपिआरको रकम समेत दुरुपयोग भएको छ। जबकी नगरपालिकाले जग्गा भोगचलन गर्न पाउने स्वीकृति नै पाएको छैन। डिपिआर गरिएको उक्त भवन निर्माणका लागि नगरविकासमा निवेदन परेपनि सो सम्बन्धमा कुनैपनि निर्णय नभएको नगरविकास स्रोतले जनाएको छ।

नगरविकासको सदस्य सचिव र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एउटै व्यक्ति भएको हुँदा सोझै डिपिआर गरी रकम दुरुपयोग भएको हो। ‘जग्गा उपलब्ध हुने ठेगान छैन। किनकी संघिय सरकार शहरी विभागको स्वीकृति पाएको छैन। एक स्थानीयले भने, ‘जग्गा टुङ्गो नहुँदै डिपिआरमा रकम खर्च गर्नु अनियमितता हो।

नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य गराउन सकिने भन्दै स्थानीय पूर्वाधार विभाग, शहरी विकास मन्त्रालयमा प्रतिवद्धता पत्र लेखि पठाएका छन्। नगरविकास समितिको सदस्य सचिव र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत एउटै प्रावधान भएको तर वोर्डको वैठक नै नबसी सदस्य सचिव ढकालले लेटर प्याडको दुरूपयोग गरी पत्र लेखेका हुन्।

निर्णयविनै सदस्य सचिवले जग्गा भोगचलनको लागि अनुमति पत्र दिनु गलत भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख नारायणप्रसाद रिसालले बताए।

‘नगरविकासको जग्गा भोगचलनका लागि दिने निर्णयका विषयमा कानूनी प्रावधान हेर्नुपर्छ। उनले भने, ‘अख्तियारको दुरुपयोग नै हो भन्न सकिन्न। दिनेश स्मृति पार्क र भवन निर्माणको सम्बन्धमा आयोगमा उजुरी परेको प्रमुख रिसालले बताए। ‘आयोगमा उजुरी दर्ता भईसकेको छ। छानविन प्रक्रियामा छ, प्रमुख रिसालले भने।

भोगचलनको गर्न पाउने प्रावधान !
भोगचलन गर्न इच्छुक व्यक्ति वा संघ, संस्थाले नगरविकासको जग्गा भोगचलन गर्दा नगरविकास समितिमा निवेदन गनुपर्दछ। निवेदनको आधारमा नगरविकास समितिले निर्णय गरी स्वीकृतिका लागि संघिय सरकारको शहरी विकास मन्त्रालयमा पठाउनुपर्ने प्रावधान छ। सोही निर्णयको आधारमा मन्त्रालयको स्वीकृतिपश्चात भोगचलन गर्न पाउने अधिकार रहन्छ।

२०७४ साल जेठ १७ गतेदेखि उपत्यका नगरविकासको अध्यक्ष नारायण कोइरालाले थिए। त्यसपश्चात नगर विकासलाई स्वतः स्थानिय निकायले संचालन गर्ने प्रावधान आएपछि २०७६ साल जेठ १६ गते कोइरालाको कार्यावधि सकियो। २०७६ साल असोज १६ गतेबाट नगरविकासको अध्यक्षमा नगरप्रमुख देवकुमार सुवेदी रहेका छन्।

नगरप्रमुख नगरविकासको अध्यक्ष र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नगरविकासको सदस्य सचिव रहने प्रावधान रहेको छ भने, हालसम्म नगर विकासको वोर्डले पूर्णता पाएको छैन। वोर्डमा नगर कार्यपालिकाका ५ जना सदस्य मनोनित गर्नुपर्ने हुन्छ तर, हालसम्म मनोनित नहुँदा वोर्डले पूर्णता नपाएको हो। जसको कारण नगरविकासको बैठक समेत बसेको छैन।

सो समितिद्वारा हालसम्म २ वटामात्र आकस्मिक निर्णय भएको नगरविकासको अभिलेख छ। जसमध्ये नगरपालिकाको हटलेन सडकमा पर्ने रुख कटान गर्ने सम्बन्धमा र बजेट माग गर्ने सम्बन्धमा निर्णय गरिएको छ भने, नगरपालिकाको प्रशासकीय भवन निर्माण र दिनेश स्मृति पार्कका सम्बन्धमा कुनैपनि निर्णय भएको छैन।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार ११:०२