सूचनाको शक्ति - The Power Of Information

        

इरानमा हत्या आरोपी रेस्लरलाई मृत्युदण्ड

काठमाडौं। इरानले हत्या आरोपी रेस्लरलाई मृत्युदण्ड दिएको छ। अन्तर्राष्ट्रिय रुपमा फासी नदिनका लागि अपिल भए पनि इरानले २७ वर्षका रेस्लर नाविद अफ्कारीलाई झुण्ड्याएर मृत्युदण्ड दिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

उनलाई सन् २०१८ मा भएको सरकारविरोधी प्रदर्शनको क्रममा सुरक्षा गार्डको हत्यामा दोषी ठहर गरी इरानले मृत्युदण्ड दिएको हो। नाविदले आफूलाई गर्दै नगरेको अपराध कबुल गराउनका लागि गम्भीर यातना दिइएको बताएका थिए।

नाविदलाई दिइएको मृत्युदण्डलाई मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले न्यायको गलत व्याख्या र न्यायको हत्याका रुपमा परिभाषित गरेको छ।

चुहावट भएको सन्देशमा नाविदले भनेका छन्, ‘यदी मलाई फासी दिइयो भने तपाईँहरुले यो बुझ्नु कि एक निर्दोष व्यक्तिले उसको बलबुताले भ्याएसम्म प्रयास गर्दा पनि ज्यान जोगाउन सकेन र फासी पाउन बाध्य भयो।’

उनलाई दक्षिणी शहर शिराजमा झुण्ड्याएर फासी दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। फासीअघि परिवारका सदस्यलाई भेट गर्न पनि नदिइएको नाविदका वकिलले बताएका छन्। इरानको कानूनले फासीअघि आफन्तसँग भेट गर्न पाउने व्यवस्था गर्छ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतवार ०९:५२