सूचनाको शक्ति - The Power Of Information

        

राजा वीरेन्द्र चढ्ने विमान विमानस्थलबाट सडकमा यसरी गुडाउँदै लगियो नारायणहिटी

नेपाली सेनाको पुरानो जहाज त्रिभुवन अन्तर्राट्रिय विमानस्थलबाट नारायणहिटी दरवार संग्रहालयमा राख्न गुडाएर लगिंदै । तस्वीर : रासस

काठमाडौं । शनिबार राति काठमाडौंको सडकमा केही मान्छेहरुले एक्कासी अचम्मको दृश्य देखे । आकाशमा उड्ने विमान काठमाडौंको सडकमा गुडिरहेको थियो ?

यो दृश्य कमैले देखे पनि आश्चर्यजनक थियो । एक्कासी विमान सडकमा गुडिरहेको दृश्यले त्यसै सडकमा हिँडिरहेकाहरूको ध्यान विमानतर्फ तानियो । यो दृश्य थियो विमानस्थलदेखि दरबारमार्गस्थित नारायणहिटी संग्राहलयसम्मको ।

नेपाली सेनाले प्रयोग गर्दै आएको ऐतिहासिक एनए ०२० एचएस ७४८ नम्बरको एभ्रो विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नारायणहिटी संग्रहालयमा राख्न गुडाएर लगिएको थियो ।

पूर्वराजा वीरेन्द्र, ज्ञानेन्द्रले स्वदेश तथा विदेश भ्रमणका दौरान प्रयोग गर्दै आएको विमान नेपाली सेनाले प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालयका इन्जिनियर सुरेन्द्र पन्जियारले बताए ।

इन्जिनियर पन्जियारका अनुसार लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड विमानलाई गतवर्ष रक्षा मन्त्रालयले नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेअनुरुप एभ्रो विमानलाई शनिबार ल्याइएको हो भने हेलिकप्टर यसअघि नै संग्रहालयमा ल्याइसकिएको छ ।

एभ्रो विमानलाई विमानस्थलदेखि नारायणहिटी संग्राहलयसम्म पुर्‍याउने जिम्मेवारी पाएको नेपाली सेनाको टोलीलाई करिब ७ घण्टा लागेको थियो । अब एभ्रो विमानलाई नारायणहिटी संग्राहलय घुम्न आउने सर्वसाधारणले हेर्न पाउनेछन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतवार ०८:४४