सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट विदेशमा अहिलेसम्म २४३ नेपालीको मृत्यु

काठमाडौं। कोरोनाभाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा २४३ नेपालीको मृत्यु भएको छ। यो साता विदेशमा ४३ नेपालीको निधन भयो।

गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार गत मार्चयता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको छ। त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले जनाए अनुसार साउदी अरबमा कोरोना संक्रमणबाट मृत्यु हुने नेपालीको सङ्ख्या ५२ पुगेको छ।

यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना सङ्क्रमणदर सामान्यरूपमा वृद्धि भएको छ। हालसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोनाभाइरसबाट सङ्क्रमित छन्।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन्।

यस्तै नेपालमा शनिबारसम्म ५३ हजार १२० जना कोरोना भाइरसबाट सङ्क्रमित छन्। तीमध्ये ३७ हजार ५२४ कोरोनामुक्त भएका छन्। हालसम्म नेपालमा ३३६ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ।

कोरोना सङ्क्रमणका कारण नेपालसहित विश्वभर जम्मा ५७९ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ। यस्तै विश्वभर ९० हजार ७६७ जनामा नेपालीमा सङ्क्रमण देखिएको छ भने तीमध्ये ७१ हजार ७१७ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतवार ०८:४१