सूचनाको शक्ति - The Power Of Information

        

सिरहा कारागारका थप १९ कैदीबन्दीमा संक्रमण पुष्टि

सिरहा । सिरहा कारागारका थप १९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाका स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार १९ जना कैदीबन्दीको शुक्रबार  पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएकामध्ये १८ महिला कैदीबन्दी छन् ।

यसअघि बुधबार ५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार र शुक्रबारको पीसीआर रिपोर्टअनुसार कारागारमा कोरोना संक्रमित कैदीबन्दीको संख्या ७८ पुगेको छ ।

बुधबार आएको रिपोर्टमा ५९ जना कैदीबन्दीमा एकैसाथ कोरोना संक्रमण देखिएपछि अन्य कैदीबन्दीको पनि स्वाब संकलन गर्दै परीक्षण गराउन थालिएको छ । १ सय ५० जना कैदी बन्दी राख्ने क्षमता भएको यो कारागारमा अहिले ५ सय ९८ जना कैदीबन्दी छन् ।

सिरहा कारागारका अनुसार यसअघि कोरोना पोजिटिभ देखिएका पुरुष कैदीबन्दीलाई फराकिलो ठाउँमा राख्न भन्दै महिला ब्लक खाली गरी अन्य जिल्लाको कारागारमा स्थानान्तरण गर्ने तयारी गरेकै बेला शुक्रबार रिपोर्ट पोजिटिभ आएपछि व्यवस्थापनमा समस्या भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार ११:०४