सूचनाको शक्ति - The Power Of Information

        

भरतपुर अस्पतालमा मृत्यु भएका तीन मध्ये एकजनामा कोराेना पुष्टि

चितवन । भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन्।

अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा बिहीबार राती उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

अन्य दुईजनाको भने नतिजा नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार बिहान मृत्यु भएकी राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको छ ।

उपचारका लागि अस्पताल आईपुग्दा उनको मृत्यु भएको थियो । बिहीबार दिउँसो सघन उपचार कक्षमा खैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारको क्रममा मृत्यु भएको पौडेलले बताए।

उनको पनि नतिजा नेगेटिभ आएको छ । उनीहरु तीनै जनालाई ज्वरो, खोकी सहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो ।

यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो । उनीहरुको कोरोना परीक्षण गर्दा तीनै जनाको नतिजा पोजेटिभ आएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार ०८:१६