सूचनाको शक्ति - The Power Of Information

        

उज्यालो नेपाल अभियान

विद्युत प्राधिकरणमा कुलमान पक्का

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ दोहोरिने पक्का भएको छ । ऊर्जा मन्त्रालयले शुक्रबार घिसिङलाई नै दोस्रो कार्यकालका लागि नियुक्ति गर्नेगरी प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

स्रोतका अनुसार कुलमानलाई फेरि नियुक्ति गर्ने पक्षमा नरहेका प्रधानमन्त्री केपी ओली समेत अन्ततः राजी भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग भएको छलफलपछि उनी कुलमानलाई नै नियुक्र गर्न राजी भएका हुन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिँदैछ ।

लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् । सातौँ तहको इन्जिनियरबाट (२०५१ सालमा) नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए ।

उनी नियुक्त भएको २ महिनापछि कात्तिकको लक्ष्मीपुजाको दिनदेखि काठमाडौँ उपत्यकाबासीले लोडसेडिङको मार खेप्नुपरेको छैन । अरुले लक्ष्मी पूजा मनाइरहँदा उनी स्युचाटारको भारप्रेषण केन्द्रमा लोडसेडिङ हुन नदिन अनवरत खटिरहेका घिसिङले ३१५ मेगावाट सम्मको माग धान्न सफल भएर आममानिसको मन जितेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १७:४६