सूचनाको शक्ति - The Power Of Information

        

अपराध

चितुवाको छालासहित पक्राउ परेकालाई मिलेमतोमा छाडेको आशंका

बझाङ । चितुवाको छाला र हड्डीसहित आइतवार प्रहरीले नियन्त्रमा लिएका बझाङ जिल्लाको बुंगल नगरपालिकाका दुई जनालाई जिल्ला वन कार्यालय बझाङले जमानतमा छाडिदिएको छ । तीन दिन प्रहरी हिरासतमा राखेर उनीहरुलाई छाडिदिएको हो ।

कानुनीरुपमा त्यसरी नियन्त्रणमा लिएका व्यक्तिलाई छाड्न मिल्दैन । छाला र हड्डीसहित नियन्त्रणमा लिएर त्यसको अन्तिम परिक्षण रिपोर्ट नआउँदासम्म आरोपीहरुलाई छाड्न नमिल्ले भए पनि बुंगल नगरपालिका ६ का वडाध्यक्ष धनबहादुर सिंहको रोहवरमा जिल्ला वन कार्यालयले जमानतमै छाडिदिएको हो ।

छाला र हड्डी परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौंमा पठाएको छ । त्यसको रिपोर्ट नआउँदै जिल्ला वन कार्यालय आरोपीहरुलाई छाडेपछि मिलेमतोको आशंका गरिएको छ । रिपोर्ट आएपछि हाजिर हुने गरी जमानतमा छुटाएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख कर्ण खातीले बताएका छन् ।

उनले भने, ‘मुद्दा चलाउनका लागि सरकारी वकिलको राय मागेर बरामद गरेको छाला र हड्डी चितुवाकै जस्तो छ, तर त्यो कस्तो छाला र हड्डी हो काठमाडौ प्रयोगशालामा पठाउनुपर्ने र त्यहाँको रिपोर्टपछि मुद्दा चलाउनुपर्ने भएकाले त्यतिन्जेलसम्म अभियुक्तलाई पछि उपस्थित हुने गरी घर पठाइएको हो ।’

आइतबार राती २ः४१ बजे बुङगल नगरपालिका–३ विजगडाबाट बागथलातर्फ पैदल हिँडिरहेका बुङ्गल– ६ का २७ वर्षिय हरजित बोहरा र सोही ठाउँका २३ वर्षिय बिरेन्द्र बोहरा चितुवाको छाला र हड्डीसहित पक्राउ परेका थिए । बाघको छाला बोकेर धनगढीतर्फ जाँदै गर्दा उनीहरुलाई बागथलामा नियन्त्रणमा लिएको थियो ।

उनीहरुको साथवाट २ थान चितुवाको छाला र ९ किलो हड्डी बरामद गरेको प्रहरीले जनाएको छ । तर वन कार्यालयले केन्द्रीय प्रयोगशाला काठमाडौंबाट छाला र हड्डी परिक्षणको अन्तिम रिपोर्ट नआउँदै आरोपीहरुलाई छाडेपछि आरोपी र वन कार्यालयबीच मिलेमतोको आशंका गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १७:१८