सूचनाको शक्ति - The Power Of Information

        

चार प्रहरी र पाँच थुनुवासहित धरानमा २१ जनामा कोरोना संक्रमण

काठमाडौं । चार प्रहरी र पाँच जना थुनुवासहित धरानमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय धरानमा कार्यरत एक जना सई र ३ जना प्रहरी जवानमा संक्रमण पुष्टि भएको हो ।

लागुऔषध मुद्दामा हिरासतमा रहेका २९, ३४ र २४ वर्षीयलाई संक्रमण पुष्टि भएको छ भने जवरजस्ती करणी मुद्दाका ४६ र ३५ वर्षीय थुनुवालाई पनि संक्रमण देखिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

यस्तै धरान ४ का ३० वर्षीय पुरुष, धरान १५ का ४३ वर्षीय पुरुष, धरान ११ की ४४ वर्षीया महिला, धरान ६ की २७ वर्षीया महिला र धरान १३ को ४३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

धरानको वडा नं १९ मा डेरा गरी बस्ने भारतबाट आएका २९ वर्षका पुरुष र उनकी श्रीमती २४ वर्षीयालाई पनि संक्रमण देखिएको छ । ब्रिटिश आर्मी भर्तीको लागि तालिम लिन आएका धरान ७ मा तालिम केन्द्रका ४ जना युवाहरुमा पनि संक्रमण पुष्टि भएको छ । मेहताका अनुसार ती युवाहरु १९, २३ र दुई जना २० वर्षका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको फोहोर जलाउन इन्सिनेटरमा कार्यरत एक जना सरसफाईकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ । योसँगै धरानको कुल संक्रमित संख्या ३११ पुगेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १३:५०