बझाङ । बझाङमा पाँच दिनका लागि निषेधाज्ञा थपिएको छ । सुरुमा एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा समुदायमा कोरोना संक्रमण फैलँदै गएपछि फेरि पाँच दिनका लागि निषेधाज्ञा थप गरिएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बुधवार बसेको बैठकले भदौ ३० गतेसम्मका लागि निषेधाज्ञा थपेको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।
यसअघि भदौं १७ गते वाट २५ गते सम्म निषेधाज्ञा गरेको थियो । ‘कोरोना नियन्त्रण गर्न सुरुमा एक हप्ताका लागि निषेधाज्ञा गरेका थियौं,’ प्रजिअ भण्डारीले भने, ‘समुदायमा थप संक्रमित बढ्दै गएपछि पाँच दिनका लागि निषेधाज्ञा बढाएका छौं ।’ जिल्लामा ४३६ जना संक्रमितमध्ये ३६२ जना निको भएर घर गएका छन् भने ७४ जना आइसोलेसनमा रहेको प्रजिअ भण्डारीले जानकारी दिएका छन् ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि बन्द गरिने भएको छ । यस्तै बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु खुला गरिने छ । समितिको आजको बैठकले देशका विभिन्न जिल्ला लगायत भारत र तेस्रो मुलुकबाट आउनेलाई नागरिकलाई अनिवार्य क्वारेन्टिनमा राखेर निर्णय पनि गरेको छ ।
सत्यराज सिंह ।