सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

जोखिम मोलेरै जीवन दिँदै चिकित्सक

बाँके । कोभिड–१९ का गम्भीर बिरामीका उपचारका लागि लेभल–३ अस्पतालको रूपमा रहेको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा कोरोना सङ्क्रमित आठ जनाको सफल शल्यक्रिया गरिएको छ । चिकित्सक र स्वास्थ्यकर्मीले जोखिम मोलेर उच्च मनोबलका साथ काम गरेकाले सम्पूर्ण शल्यक्रिया सफल भएको अस्पतालका सहनिर्देशक डा.दिनेश श्रेष्ठले जानकारी दिए ।

चैत ११ देखि बन्दाबन्दी सुरु भएपछि अस्पतालमा कोभिड १९ का गम्भीर प्रकृतिका बिरामीको उपचार थालिँदा सुरुमा केही चिन्ता र डरत्रास भए पनि अहिले सहजताका साथ सबै कार्य क्षेत्रमा खटिने अवस्था भएको उनले बताए । कोहलपुर शिक्षण अस्पतालमा चार जना गर्भवतीसहित आठ जनाको शल्यक्रिया भएको हो ।

त्यसमध्ये तीन जना गर्भवतीले सुरक्षितरूपमा शिशुलाई जन्म दिएकी छन् । यहाँ गरिएका शल्यक्रियामध्ये चारवटा प्रसूति, दुईवटा आन्द्रा गुजुल्टेको, एउटा प्वाल परेको र एउटा हात भाँचिएको बिरामीको सफल शल्यक्रिया गरिएको हो । सुरुमा कोरोना सङ्क्रमित बिरामीको परीक्षण नभई तथा पूर्व जानकारी बिना अस्पतालमा आउँदा उपचार लगायत अन्य व्यवस्थापनमा समस्या भएको थियो ।

पछिल्लो समय पूर्व जानकारी तथा अन्य अस्पतालबाट रिफर भई आउने भएकाले उपचारको पूर्वतयारी गर्न सहज भएको डा.श्रेष्ठले जानकारी दिए । प्रदेश ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालका गम्भीर बिरामीहरूको उपचारका लागि कोहलपुर रिफर गर्ने गरिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार ०८:२९