सूचनाको शक्ति - The Power Of Information

        

बारबर्दियामा फस्टाउँदै बेसार खेती

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका–१ मा बेसार खेती फस्टाउँदै गएको छ । विगतमा एकलरुपमा खेती गर्दै आएका किसानहरुले अहिले सामुहिकरुपमा खेती गर्नसमेत थालेका छन् । विगतमा घरासयी प्रयोजनका लागि मात्रै खेती गर्ने किसानहरु अहिले बेसारले बजार पाउन थालेपछि सामुहिकरुपमा बेसार खेतीतर्फ आकर्षित भएका हुन् ।

ब्याकवार्ड सोसाइटी एजेकेशन (बेस) बर्दियाद्वारा सञ्चालिन सीप तथा उद्यमशीलता विकासद्वारा आर्थिक सशक्तीकरण परियोजना तथा लुथरन वल्र्ड रिलिफको सहयोगमा बेसार खेतीको उत्पादन, प्रशोधन तथा बजारीकरण गर्नमा किसानहरुलाई सहयोग सँगै बिक्रीका लागि बजार सुनिश्चित भएपछि सामुहिकरुपमा बेसार खेतीतर्फ आकर्षण बढेको हो ।

समुदायलाई आत्मनिर्भर स्वरोजगार बन्न सीप र तालिम दिएर क्षमताको विकास गर्दै गरिबी निवारणका कार्यक्रम सञ्चालन गरेर किसानलाई उद्यमशीलतातर्फ जोडेर आर्थिक उपार्जनमा सहयोग गर्न कृषि उत्पादनमा बेसले सहयोग गरिरहेको बेस बर्दियाका अध्यक्ष बिष्णुु थारुले बताए । उनले यहाँ उत्पादित बेसार अन्यत्र नियात गर्न सकिने पनि बताए ।

बेसार खेतीबाट किसानहरुलाई आत्मनिर्भर बनाई शुद्ध बेसारको उत्पादन गरी उनीहरुको आर्थिकस्तरमा पनि वृद्धि हुने अध्यक्ष थारुले बताए । उनले किसानहरुलाई बेसार खेती गरेर आफ्नो जीवनयापन सहज र खुसी बनाउन पनि सुझाव दिए । ठाकुरबाबा र बारबर्दियामा गरी ३३० कठ्ठामा प्याज खेती तथा २६४ कठ्ठामा बेसार खेतीका लागि बेसले ८२ लाख ३७ हजार लागतमा वीउ र प्राविधिक सहयोग गर्दै आएको छ ।

बेसले बेसार खेतीका लागि ठाकुरबाबाको १, ३, ४, ५, ६ र ८ वडा र बारबर्दियाको १ र ३ वडाका मुक्तकमैया, सुकुम्वासी तथा विपन्न परिवारलाई सहयोग गरिरहेको अध्यक्ष थारुले जानकारी दिए । कृषि उपजको बजार प्रवद्र्धन गर्न जिल्ला समन्वय समिति संयोजक शंकरप्रसाद थारुसहितको जिल्ला स्तरीय संयुक्त अनुगमन टोलीले किसानहरुले सामुहिकरुपमा गरेको बेसार खेतीको अनुगमनसमेत गरेको छ ।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति बर्दियाका संयोजक थारुसहित एकीकृत कृषि तथा पशुपंक्षी विकासका कृिष अधिकृत तीर्थ खड्का, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि नरेन्द्रकुमार शर्मा, समाजसेवी लक्ष्मीकुमार शर्मा, पत्रकार भावुक योगी लगायतको सहभागिता थियो । टोलीले कृषि उपजको बजार प्रवद्र्धन गर्न जरुरी रहेको बताउँदै बेसार खेती गरेका किसानहरुसँग भेटघाट तथा छलफल समेत गरेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार १४:३२