बाँके । स्वास्थ्य संस्था टाढा भएकाले स्वास्थ्य सेवाबाट बञ्चित भएका सर्वसाधारणलाई राप्तीसोनारी गाउँपालिका कार्यालय परिसरबाटै स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ । राप्तीसोनारी गाउँपालिकाको अगैयास्थित कार्यालय परिसरमा प्राथमिक स्वास्थ्य उपचार कक्ष स्थापना गरिएसँगै स्वास्थ्य सेवाबाट बञ्चित भएका सर्वसाधारणलाई सहज हुने भएको छ ।
गाउँपालिकाले प्राथमिक स्वास्थ्य उपचार कक्षका लागि २ जना स्वास्थ्यकर्मी नियमित रुपमा बस्ने व्यवस्था मिलाएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए । गाउँपालिकामा स्वास्थ्य केन्द्र स्थापना भएपछि अगैया आसपासका क्षेत्रका सर्वसाधारणले सहजैरुपमा स्वास्थ्य सेवा पाउने भएका छन् ।
सोमबारदेखि सञ्चालनमा आएको स्वास्थ्य केन्द्रको गाउँपालिकाका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीको स्वास्थ्य जाँच गरेर प्राथमिक स्वास्थ्य उपचार कक्षको सुभारम्भ गरिएको थियो । नजिकै स्वास्थ्य चौकी लगायतका स्वास्थ्य संस्था नभएकाले गाउँपालिकाभित्रै सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।
सत्यपाटी ।