सूचनाको शक्ति - The Power Of Information

        

योजना शाखा प्रमुख पौडेल राप्तीसोनारीका सर्वोत्कृट कर्मचारी

बाँके । राप्तीसोनारी गाउँपालिकाले योजना शाखा प्रमुख बालानन्द पौडेललाई सर्वोत्कृट कर्मचारीको रुपमा सम्मान गरेको छ । शाखा प्रमूख पौडेलको कार्यसम्पादन, अनुशासन र सेवाग्राहीलाई गर्ने ब्यवहारको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो ।

निजामति कर्मचारी दिवसको अवसरमा गाउँपालिकाको कार्यालय अगैयामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री र प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले पौडेललाई नगद १० हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली, सवइन्जिनियर रामबहादुर बुढा, वडा नं.३ का सचिव बुद्धिराम भण्डारी, वडा नं.४ का सचिव शैलजा चौधरी, स्वास्थ्य चौकी विनौनाका स्वास्थ्यकर्मी जश्मी बुढाथोकी र कार्यालय सहयोगी मोतिराम चौधरी तथा गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी जंगु चौधरीलाई पनि उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेको छ ।

सम्मानित कर्मचारीहरुलाई प्रतिब्यक्ति ५ हजार रुपैयाँका दरले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले कर्मचारीलाई सम्मान गरिँदा उत्कृष्ट काम गर्न हौसला मिल्ने बताए । कर्मचारीले राम्रो काम गरेर हरेक सम्मान ग्रहण गर्नुपर्ने उनको सुझाव छ ।

‘इमानदारिता र लगनशीलता कर्मचारीको बहुमूल्य गहना हो, त्यसैले निजामति कर्मचारीले आफूले पाएको जिम्मेवारीलाई जागिरका हिसाबले मात्र लिनुहुँदैन, जागिरलाई जिम्मेवारीका हिसाबले लिन सक्नुपर्छ,’ अध्यक्ष थारुले भने । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अनुशासन र कामले नै कर्मचारीको मुल्यांकन हुने भएकाले आफ्नो दायित्व र जिम्मेवारी निभाउनुपर्ने बताए ।

उनले सरकारी नीति निर्देशनमा रहेर सेवाग्राहीलाई सेवा दिनु नै कर्मचारीको पहिलो काम, कर्तव्य भएको धारणा राखे । यस्तै योजना शाखा प्रमुख पौडेलले सर्वोत्कृष्ट सम्मान पाउँदा काम गर्ने जिम्मेवारी अझै बढेको महसुस भएको बताए । ‘कार्यालयले सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरेपछि मैले थप जिम्मेवारी बढेको महसुस गरेको छु,’ उनले भने ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलवार १३:४५